कोशी

दसैँमा अवान्छित गतिविधि रोक्न कोशीमा साढे सात हजार प्रहरी परिचालन

बाबुराम भण्डारी |
कात्तिक ६, २०८० सोमबार १४:३६ बजे

विराटनगर- बडादसैँ लगायतका चाडपर्वमा सर्वसाधारणको सुरक्षा र अवान्छित गतिविधि रोक्नका लागि साढे सात हजार बढी प्रहरी परिचालन भएका छन् । चाडपर्व सुरक्षा कार्ययोजना २०८० कार्यान्वयन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेशमा ७ हजार ५१५ जना प्रहरी जनशक्ति परिचालन गरेको जनाएको छ ।

चाड पर्वको समयमा हुनसक्ने अवान्छित तथा आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण र विगतका वर्षहरूमा भएका घटनालाई विश्लेषण गरी चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गरिएको जनाइएको छ ।


कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा सुरक्षा व्यवस्थालाई मजबुत बनाई आम नागरिकमा सुरक्षित र भय रहित तवरबाट चाडपर्व मनाउनका लागि मातहतका कार्यालयहरूले समेत सक्रियताका साथ काम गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोलाले बताए ।

चाडपर्वलाई हर्ष र उल्लासका साथ मनाउने वातावरण सृजना गर्न, बैंक तथा वित्तीय संघ संस्थाहरूमा हुने कारोबार सुरक्षित बनाउन, विभिन्न गन्तव्यसम्म जाने यात्रुहरूलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै किसिमको अप्रिय घटना, दुर्घटना हुन नदिन चाडपर्व सुरक्षा योजना तयार गरी दुरुस्त र योजनाबद्ध रूपमा प्रहरी परिचालन गरेको उनले बताए ।

त्यसका लागि प्रदेश स्तरमा सुरक्षा कमाण्ड पोष्ट स्थापना गर्नुका साथै कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा जिल्ला कमाण्ड पोष्ट स्थापना भएको जनाइएको छ । चाडपर्वको बेलामा हुनसक्ने अप्रत्याशित घटनाहरूमा थप प्रहरी परिचालनका लागि प्रदेशस्तरका रिजर्भ टोली ४ वटा,  जिल्लाहरूमा रिजर्भ टोली २६ वटा र १७ वटा स्ट्राइकिङ टोली तयारी अवस्थामा रहेको जनाइएको छ ।

जिल्लाहरूमा शान्ति सुरक्षाको निम्ति विशेष चेकिङ, नियमित चेकिङ, रात्रिकालीन चेकिङ, ट्राफिकसहित संयुक्त चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, मोटरसाइकल गस्ती, साइकल गस्ती तथा विभिन्न स्थानमा पकेट ड्युटी खटाई सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरको सूचना समन्वय शाखाले जनाएको छ ।

बजार एरिया, बैंक, वित्तीय संघ संस्था, एकान्त ठाउँ, मानिसको बढी भीडभाड हुने स्थानहरूमा शान्ति सुरक्षाको निम्ति पैदल तथा मोबाइल गस्ती र सादा पोसाकमा परिचालन गरिएको प्रहरीको भनाइ छ । चोक बजार लगायत विभिन्न स्थानमा रहेका सिसिटिभीको निगरानी समेत बढाइएको दाबी प्रहरीको छ ।

त्यसैगरी चाडपर्वकै मौका छोपेर अन्तराष्ट्रिय सीमा नाका तथा अन्तर जिल्लाका नाकाहरूबाट अवैध सामग्रीहरू तथा विष्फोट पदार्थ समेत भित्रिन सक्नेतर्फ सुरक्षा संवेदनशीलता अपनाइएको जनाइएको छ । त्यसका लागि मुख्य सीमा नाका तथा शंकास्पद स्थानहरूमा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिँदै आएको दाबी कार्यालयको छ । त्यसैगरी सवारी साधनहरूमा कडाइका साथ चेकजाँचको व्यवस्था मिलाइएको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

चाडपर्वको बेलामा सवारी दुर्घटना न्यूनीकरण, यात्रु सहजीकरण तथा यात्रुहरू ठगिन नदिन यात्रु सहायता कक्षको स्थापना गरी सञ्चालनमा ल्याएको जनाइएको छ । कोशी प्रदेशका मुख्य राजमार्गहरूमा २४ सै घण्टा संयुक्त रूपमा ट्राफिक प्रहरीसहितको विशेष चेकिङ हुने गरेको जनाइएको छ ।

सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठान, धार्मिक स्थल, उद्याेग कलकारखानाहरूको सुरक्षाको निम्ति आवश्यक पैदल तथा मोबाइल गस्तीसहित थप प्रहरी परिचालन गरिएको, पहाडी भेगहरूमा शान्ति सुरक्षाको निम्ति लामो तथा छोटो ग्रामीण गस्ती, बजार गस्ती र खबर संकलन समेत गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरीले जनाएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x