कोशी

प्रदेश १ मा ओली र दाहाल-नेपाल पक्षका छुट्टाछुट्टै भेला

लीलावल्लभ घिमिरे |
मंसिर २७, २०७७ शनिबार १२:४५ बजे

फाइल तस्वीर

विराटनगर : सत्तारुढ नेकपामा देखिएको तल्ला तहसम्म पुगेको छ । प्रदेश १ मा शनिबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको भेला हुँदैछ भने ३० गते अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले भेलाको तयारी थालेका छन् । युवा संघ नेपालले प्रदेश १ स्तरीय भेला शनिबार मोरङको शुन्दरहरैंचाको विराट चोकमा आयोजना गरेको छ । भेलामा केपी ओली पक्षका युवा नेता तथा कार्यकर्ताहरूको मात्र सहभागिता हुनेछ । 

भेलामा नेकपाका नेता पूर्वमन्त्री गोकुल बाँस्कोटा प्रमुख अतिथि रहेको युवा संघ नेपालका पूर्वकेन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेतले बताए । ‘यो भेला पार्टी एकताको पक्षमा र राजावादीविरुद्ध आयोजना गरीएको हो,’ उनले भने, ‘भेलामा प्रदेशभरका युवाहरू सहभागी हुनेछन् ।’ भेलाले सडकमा राजावादीका नाममा निस्केका जुलुसको उत्तर दिने बस्नेतको भनाइ छ । 


शनिबार झापाबाट निस्केको मोटरसाइल -याली मोरङको रंगेली, विराटनगर हुँदै सुनसरीको दुहवीबाट कार्यक्रम स्थल विराट चोक पुग्ने बस्नेतले बताए । उनका अनुसार भेलामा युवा संघका केन्द्रीय नेताहरू सहभागी हुनेछन् । केही दिनअघि दाहाल र नेपाल पक्षका पार्टीका नेताहरूको भेला इटहरीमा भएको थियो । 

ओली पक्षका युवाहरूले दाहाल, नेपाल पक्षलाई शक्ति देखाउन भेला आयोजना गरेको स्रोतले बतायो । भेलाका लागि जिल्लाबाट जति सक्दो धेरै युवाहरू ल्याउन भनिएको छ । त्यसका लागि ओली पक्षका युवाहरू लागि परेका छन् । उनीहरूलाई ओली पक्षका पार्टी नेताहरूले साथ दिएका छन् । 

उता दाहाल नेपाल पक्षका युवाहरूले ३० गते विराटनगरमा भेलाको आयोजना गर्ने तयारी गरेका छन् । शनिबारको भेलामा नआउन र ३० गतेको भेलामा आउन जिल्लाहरूमा कार्यकर्तालाई दवाव दिन थालिएको छ । एक पक्षले आउन र अर्को पक्षले नआउन दवाव दिँदा जिल्लाका नेता तथा कार्यकर्ताहरू अन्योलमा परेका छन् ।

युवा संघका दुवै भेला पार्टीसंग सरोकार र साइनो नभएको नेकपा मोरङका सचिव गणेश उप्रेतीले बताए । ‘शनिबार र ३० गते हुने युवा संघका भेला बारे पार्टीलाई आधिकारिक रुपमा थाहा छैन्,’ मोरङ सचिव उप्रेतीले भने, ‘यस्ता कृयाकलापले पार्टी भित्रको संकट झनै गहिरिन्छ ।’


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x