मधेश

हसियाँ हथाैडा चिन्हबाट चुनाव उठेर मधेश प्रदेशमा रायले जाेगाए माओवादीकाे साख

इकागज |
मंसिर ११, २०७९ आइतबार १२:२ बजे

जनकपुरधाम ।मंसिर ४ मा सम्पन्न आम निर्वाचन २०७९ बाट प्रतिनिधिसभा संसदीयतर्फ मधेस प्रदेशमा ​हसियाँ हथाैडा चुनाव चिन्ह लिएर चुनावी स्पर्धामा रहेका  नेपाल समाजवादी पार्टीका उम्मेदवारले माओवादीकाे साख जाेगाएका छन् । बाबुराम भट्टराई नेतृत्वकाे समाजवादी पार्टीका महेन्द्र राय यादव मात्रैले मधेशमा जितेका छन् ।

माओवादी केन्द्रकै सदस्य रहेका कुनै पनि उम्मेदवारले याे प्रदेशमा वियज हासिल गर्न सकेनन् । प्रदेशका ३२ क्षेत्रमा सत्ता गठबन्धनको भागबण्डाबाट चुनावमा माओवादीले ७ सिट मध्ये ६ सिटमा आफ्ना उम्मेद्वार राखेका थिए  । एक सिट सर्लाहीकाे क्षेत्र नं. २ मा समाजवादी पार्टीलाई सापटी दिएका थिए । त्यही क्षेत्रमा यादवले जितेका हुन् । माओवादीले धनुषा १, महाेत्तरी १, सिरहा ३, सर्लाही २ र ३, राैतहट ३, बारा २ सहित ७ वटा सिट गठबन्धनबाट पाएका थिए । जसमा सर्लाही २ नेसपालाई दिएकाे थियाे भने राैतहट ३ मा एमालेका बागी स्वतन्त्र उम्मेद्वार प्रभु साहलाई समर्थन गरेकाे थियाे ।


साहलाई समर्थन गर्न रौतहट ३ मा रवीन्द्र पटेलले असहमति जनाउँदा माओवादीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्‍यो । परिणाम एमालेका बागी साह माओवादीसहितका गठबन्धनको समर्थनमा विजयी भए । तर आफ्नै उम्मेद्वार पटेल ८ हजार ४५८ मत ल्याई नराम्राे तरिकाले हारेर तेश्राे स्थान पाए । मधेसमा विगतदेखि नै कमजोर माओवादीलाई गठबन्धनको बलमा जित्नसक्ने क्षेत्रमा उम्मेदवार उठाए पनि इज्जत जाेगाउन सकेन ।

माओवादीका प्रभावशाली मानिने नेताहरू मातृकाप्रसाद यादव धनुषा १, विश्वनाथ साह सिरहा ३, गिरिराजमणि पोखरेल महोत्तरी १ र शिवचन्द्रप्रसाद कुशवाहा बारा २ मा पराजित भएका छन् । पोखरेल जनमोर्चा हुँदै माओवादीमा आएका नेता हुन् । ०६४ देखि निरन्तर ०७४ सम्म जितेका पोखरेलको यसपटक एमालेका लक्ष्मी महतोसँग जित्न सकेन । मातृका जसपाका दिपक कार्कीसँग पराजित भएका भने विश्वनाथ एमालेका लीलानाथ श्रेष्ठसँग पराजित भएका छन् ।

प्रदेशसभातर्फ पनि माओवादीका अधिकांश नेता पराजित भएका छन् । प्रदेशसभा सदस्यका लागि १५ क्षेत्रमा उम्मेदवार खडा गरेका माओवादीले ४ सिटमात्र जित्न सकेका छन् । माओवादीले प्रदेशमा महोत्तरी १ (२), सर्लाही ४ (२), रौतहट ४ (१), पर्सा १ (१) सहितका ४ सिट मात्र जितेका छन् भने सप्तरी १ (१), सप्तरी २ (२), सिरहा २ (१), सिरहा ४ (१), धनुषा २ (२), महोत्तरी ४ (२), सर्लाही २ (१), बारा ३ (१), बारा ४ (१), पर्सा ३ (१), पर्सा ४ (२) मा चुनाव हारेका छन् ।


Author

थप समाचार
x