मधेश

चोरमाथि प्रहरीको गोली प्रहार, दुई जना घाइते

इकागज |
कात्तिक २९, २०८० बुधबार १०:१६ बजे

सांकेतिक तस्बिर

जलेश्वर (महोत्तरी)- महोत्तरीमा प्रहरीको गोलीबाट दुईजना घाइते भएका छन् । गए राति प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीको गाडीबाट भागेपछि दुवैजनालाई प्रहरीले गोली हानेको थियो । दुवै जना गम्भीर घाइते भएका छन् । 

घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । दुवै जनाले यही कात्तिक २० गते राति जलेश्वर नगरपालिका–८ का जयकिशोर चौधरीको घरबाट रु एक लाख नगद, सुनका गहना, चाँदी तथा एक थान मोबाइल लुटेका थिए ।


जिल्ला प्रहरी कार्यालयबाट सहायक प्रहरी निरीक्षक रामेश्वर यादवको नेतृत्वमा खटिएको टोलीले दुवै जनालाई मङ्गलबार गरुडा नगरपालिका–४ पानीट्याङ्की नजिकैबाट पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, गोली चार राउन्ड, मोबाइल एक थान र नगद रु चार हजार बरामद गरेको छ । 

पक्राउ परेका दुवै जना महोत्तरी ल्याउँदै गर्दा राति सर्लाहीको सङ्ग्रामपुरबाट भाग्न खोजेपछि प्रहरीले चलाएको गोलीबाट घाइते भएका प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनीहरुको  प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । करिब रु ६० लाख लुटपाट गरेको आरोपमा पक्राउ परेका दुवै जनालाई प्रहरीले मुलकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४४ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको उनले बताए । रासस


Author

थप समाचार
x