मधेश

बारामा ३१ सहिद थपिए, किसान आन्दोलनका सहिद मुखलाल महतो भने फेरि छुटे

कसरी मारिएका थिए मुखलाल ?

इकागज |
फागुन २७, २०८० आइतबार १४:३५ बजे

बारा- सरकारले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ । 

विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने बाराका ३१ जनाको नाम समेत गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको रहेको हो ।


प्रकाशित नामावलीअनुसार बारामा सबैभन्दा बढी कोल्हवी नगरपालिकामा ६ जना र दोस्रोमा निजगढ नगरपालिकामा ५ सहिद रहेका छन् भने सबैभन्दा कम जीतपुर सिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकामा एक-एक जना मात्रै सहिद रहेका छन् । 

सहिदको सूचीमा समेटिएका निजगढ नगरपालिका ८ सोभित सिंह तामाङ, निजगढ ६ का केदारबहादुर केसी, निजगढ ६ का राजनप्रसाद चौलागाई, निजगढ ४ का राजेन्द्रप्रसाद शाह कलवर, निजगढ २ का बलबहादुर थापा, कोल्वही नगरपालिका ६ का काजीमान थिङ, कोल्हवी ११ का ओम प्रकाश चौधरी, कोल्हवी  ६ का विसुन चौधरी, कोल्हवी १० का सदाम हुसेन, कोल्हवी  १ का ठाकुरप्रसाद चौधरी, कोल्हवी ४ का ओम प्रकाश चौधरी, पचरौता नगरपालिका ९ का देवराज मुखिया, पचरौता ७ का रमानन्द सहनी, पचरौता ९ का बेदामी मुखिया बिन, महागढीमाई नगरपालिका ५ का हरिकिशुनप्रसाद साह, महागढीमाई ४ का अंगद पाण्डेय, महागढीमाई २ का छोटेलालप्रसाद कुशवाहा, सिम्रौनगढ नगरपालिका ११ का विरेन्द्र शाह तेली, सिम्रौनगढ ११ का शंकर महतो नुनिया, सिम्रौनगढ १० का राम नरेशप्रसाद यादव, सिम्रौनगढ १ का बिरेन्द्र कुमार, करैयामाई गाउँपालिका ७ का प्रदिप चौधरी, करैयामाई ८ का हरी चौधरी थारु, करैयामाई ८ का श्यमासुन्दर ठाकुर, आदर्शकोतवाल गाउँपालिका २ का जोगिन्द्र राउत, आदर्शकोतवाल ५ का रामभरोस राउत कुर्मी, बारागढी गाउँपालिका ३ का हिरालाल पंडित, बारागढी २ का गजेन्द्र सहनी मलह, बारागढी २ का लालबहादुर मुखिया, जीतपुर सिमरा उपमहानगरपालिका १९ का ताजमहम्मद अन्सारी र कलैया उपमहानगरपालिका २१ का लक्षुमण राउत अहिर रहेका छन् । 

किसान आन्दोलनका सहिद मुखलाल महतो भने फेरि छुटे

सरकारले देश भरका दुई हजार ६७४ जना सहिदको थप गरिरहँदा बारामा ३१ जना थपिए तर किसान आन्दोलनका बेलामा बाराको नेतृत्वकर्ताका रूपमा रहेका बाराको कलैया उपमहानगरपालिका १५ बकुलहरका मुखलाल महतोको नाम भने यस पटक पनि समावेश गरेको छैन । 

विसं १९९६ मा जन्मेका मुखलाल १६ वर्षको कलिलै उमेरमा २०१२ मंसिरमा तराईमा चर्किँदै गएको किसान आन्दोलनका क्रममा तत्कालीन साही सेना हाल नेपाली सेनाले हत्या गरेका मुखलाल महतोलाई हालसम्म पनि सरकारले सहिद घोषणा गरेको छैन ।  सरकारले मुखलाललाई सहिद घोषणा  नगरेता पनि उनलाई बाराका जनताले भने बिर्सेका छैनन् । बाराका किसानले हरेक वर्ष माघ १६ गते सहिद दिवसका दिन उनको योगदानलाई स्मरण गर्ने गर्छन् ।

बाराका नेता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले भने, ‘मुखलाललाई सहिद घोषणा गर्ने सरकारलाई पटक-पटक अनुरोध समेत गरेका भएता पनि सरकारले बेवास्ता गरेपछि हामीले नै मुखलालको सम्झनाका निम्ति उनको शालिक बनाएर करैयामाई गाउँपालिकाको नरही चोकमा सहिद मुखलाल महतोको पार्क निर्माण गरेका छौं, जहाँ उनको सम्झनामा हरेक वर्ष कार्यक्रम गर्ने गरिन्छ ।’

उनले अगाडि भने, 'मुखलाल कुनै पार्टी विशेषका भएको भए उनको नाम सहिदको नाममा समावेश भइसकेको हुन्थ्यो तर उनी कुनै राजनीतिक दलमा थिएनन् त्यहीँ भएर यो पटक पनि सरकारले नाम समावेश गरेन ।' 

सरकारले किसान आन्दोलनको महत्व नबुझेका कारण आजसम्म मुखलाल देशको सहिद घोषणा हुन नसकेको बाराका किसानको भनाइ छ । 

मुखलाल किसानका नभएर कुनै आमुख पार्टीका भएको भए सरकारले उहिलै सहिद घोषणा गरिसकेको हुनेथियो तर उनी किसान र गरिबका मान्छे भएका कारण सरकारले पक्षपात गरेको महसुस भएको करैयामाई गाउँपालिका ६ का किसान राजु पटेलले बताए ।

हरेक वर्ष उनको स्मरणमा कार्यक्रम आयोजना गरेर उनको सम्मान गर्ने गरिन्छ । यो वर्ष उनको ६९ औं स्मृति दिवस मनाइएको थियो ।

जिम्मेवार निकाय र अधिकारीहरूले मुखलाललाई सहिदको सूचीमा राख्न कुनै चासो दिएको पाइदैन । सहिदको घोषणा गरेकामध्ये कति सहिद बिनाकारण र कुनै योगदानबिना नै घोषणा गरेको भएता पनि किसान आन्दोलनका अगुवामध्ये एक जसलाई सरकारले गोली हानी हत्या गरेको थियो, उनै मुखलाललाई भने सहिद घोषणा गर्न सरकार आनाकानी गरिरहेको छ ।

कसरी मारिएका थिए मुखलाल ?

तराईमा थुप्रै गरिब किसान थिए उनीहरूमाथि साहु र जमिनदारको एकदमै ज्यादती भएको थियो । किसान आन्दोलन भइरहेको बेलामा बाराको गडहलमा रहेका जिम्दार ह्रदय नारायणले नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य मधु सिंहले नेतृत्व लिएकाले उनलाई कमजोर बनाउँदा आन्दोलन फितलो हुने भन्दै समातेर जिम्दारले घरमा थुने ।

स्थानीय प्रहरी र जिल्ला प्रहरीले जिम्दारलाई सुरक्षा दिएका थिए । यो खबर बाहिर आएपछि नेपाल कम्युनिस्ट पार्टीले किसान आन्दोलनको नेतृत्वको जिम्मा मुखलाललाई दियो । त्यसपछि मुखलाल लगायत बारा, पर्सा र रौतहटका करिब दश हजार किसानले गडहलमा घेरा हाले र सिंहको रिहाइको माग गरे । दुई  दिनसम्म किसानले पूरै गाउँमा घेरा हालेपछि स्थिति प्रहरीको नियन्त्रणभन्दा बाहिर रहेपछि विरगञ्जबाट तत्कालीन शाही सोनालाई गडहलमा परिचालन गरियो तर पूरै गाउँलाई घेरा हालेका किसानले सेनालाई गाउँ प्रवेश गर्न दिएन ।

सिंहलाई नियन्त्रणमा लिएर विरगञ्जमा ल्याउनु भन्ने आदेश सेनालाई थियो तर किसानले गाउँभित्र प्रवेश गर्न निकै कठिन भएपछि वडा हाकिम (तत्कालीन सेनाको पद) ले गोली चलाउने आदेश दिएका थिए । त्यहीँ क्रममा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । ति मध्ये एक मुखलाल हुन् र अर्का सिघार कमरेड थिए । सेनाले सिघार कमरेडको शव लिएर गएका कारण उनको परिचय खुल्न सकेन भने मुखलालको शव भने आन्दोलनमा रहेका किसानले सेनाबाट खोसेर राखेका कारण उनको सनाखत भएको थियो ।

सो क्रममा करिब तीन सय किसान गिरफ्तार भएका थिए भने ७० जनालाई नख्खु जेलमा समेत लगिएको थियो । यसरी किसानका निम्ति आफ्नो १६ वर्षको उमेरमा सहिद भएका मुखलाललाई सहिद घोषणा नगर्दा बाराका किसान समेत निराश बनेका छन् । न्युजकारखाना


Author

थप समाचार
x