मधेश

उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तित

इकागज |
चैत १७, २०८० शनिबार ९:३६ बजे

बरहथवा (सर्लाही)- उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो । 

मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्रबहादुर जिम्बाले गुनासो गर्नुभयो । प्रति किलो रु ६५० किलोमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका–४, का किसान राम विश्वास महतोले बताए ।


'धेरै फल्ने आशमा महँगो मूल्यमा बीउ किनेर रोपियो', उनले भने, 'अहिले सबै लगानी डुब्यो ।' बागमती र बरहथवाका किसानले लगाएको बिघौँबिघा क्षेत्रफलको हाइब्रिड मकैमा दाना नलागेको किसानको दाबी छ । 

यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई यामसम्म उन्नत जातको मकै रोप्ने गरेका छन् । प्रशस्त फल्ने विश्वासमा ऋण गरेर रोपेको मकैमा दाना नलागेपछि आफू बर्बाद भएको अर्का किसान रञ्जित महतोले गुनासो गरे । उनले गत मङ्सिरमा तीन बिघा क्षेत्रफलमा उन्नत जातको मकै लगाएको बताए । उनका अनुसार घोगा ठूलो लागे पनि दाना लागेको छैन । 

महँगो बीउसँगै विशेष किसिमले  मलखाद हालेर  लगानी गरेको मकै नफलेपछि किसान छागाँबाट खसेजस्तै भएका छन् । र किसानलाई गुणस्तरहीन मकैको बीउ बिक्री गरेर ठगी गरेको बरहथवा–५ कि  ललिता साहको आरोप छ । मकैमा दाना नलागे पछि आफूहरू संकटमा परेको उनले गुनासो गरे ।

उन्नत जातको मकै खेतीका लागि प्रतिकट्ठा रु तीन हजारदेखि तीन हजार पाँच सयसम्म खनजोत, मलखाद र कामदार खर्च लागेको किसानहरूले बताएका छन् । जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी छ । 

उत्पादन बिग्रिएका अधिकांश किसानले भारतीय बीउ उत्पादन कम्पनी नुजिभिडु सिड्सले उत्पादन गरेको ‘विनर’ नामको मकै लगाएको बताएका छन् । मङ्सिरका पहिलो साताअघि लगाइएको अन्य कम्पनीका हाइब्रिड जातको मकैमा  समस्या देखिएको बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल साहीले जानकारी दिए ।

बीउ उत्पादक कम्पनीले भने मौसम अनुकूल नभएका कारण मकैमा दाना नलागेको जनाएको छ । नुजिभिडु सिड्सका नेपाल प्रतिनिधि श्रीप्रसाद पालिखेलले किसानले समयअगावै मकै रोपेका कारण समस्या भएको दाबी गरे । मकैको परागसेचनको समयमा धेरै चिसो भएको उनले दाबी छ ।

'किसानले मकै रोप्न हतार गर्नुभयो', उनले भने, 'कम्पनीले मकै रोप्ने समय जानकारी गराउँदा अटेर गर्नुभएको देखियो ।' मङ्सिर पहिलो सातादेखि रोप्नुपर्ने मकै कात्तिकतिरै रोपिएको उनको दाबी छ । दाना नलागेका किसानको विवरण संकलन गरेर भारतस्थित कम्पनीमा  जानकारी गराइएको उनले बताए । किसानलाई कसरी राहत पु¥याउन सकिन्छ भनेर आफूहरूले अनुगमन गरिरहेको उहाँले बताए । नगरपालिकास्थित कृषि शाखाले क्षतिको विवरण संकलन गरिरेहेको छ । 

किसानलाई अनुदानमा वितरण गरेको मकै उत्पादन नभएको गुनासोपछि आफूहरूले  विवरण संकलन सुरु गरेको र एक दुई दिनभित्रमा पूर्ण विवरण सार्वजनिक गरिने नगर कृषि शाखा अधिकृत अवधेशकुमार झाले जानकारी  दिए । अत्यधिक मकै उत्पादन हुने यस क्षेत्रमा नगरपालिकाले ‘मकै क्षेत्र’ विकासका लागि छ सय किलो विनर मकैको बीउ अनुदानमा वितरण गरेको थियो ।  

जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, शङ्करपुर, राजघाट, हजरिया, मुर्तियालगायत स्थानमा हाइब्रिड मकै उत्पादन हुने गरेको छ । जिल्लामा बर्सेनि १२ हजार हेक्टर क्षेत्रफलमा मकै लगाउने गरिको छभने यहाँ ५ दशमलव ३ लाख मेट्रिक टन मकै उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत देवानन्द यादवले बताए । रासस


Author

थप समाचार
x