मधेश

खोला उत्खनन रोक्न गएका सशस्त्र प्रहरीमाथि भारतीय आक्रमण, तीन घाइते

माधुरी महतो |
माघ ३०, २०७७ शुक्रबार १३:१७ बजे

वीरगन्ज : पर्साको जीराभवानी गाउँपालिका-१ पिपरडारीस्थित ओरीया खोलामा भइरहेको बालुवा तस्करी रोक्न गएका सशस्त्र प्रहरीको टोलीमाथि शुक्रबार बिहान भारतीयहरुले नेपाली भूमिमै छिरेर आक्रमण गरेका छन् । भारतीयहरुको आक्रमणबाट ३ जना सशस्त्र प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी जवानद्वय आयुष राय यादवको कन्चट फुटेको छ भने  महेशप्रसाद यादवको देब्रे हात भाच्चिएको जानकारी प्राप्त भएको छ । दुवै जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्काले बताए । अर्का घाइते सशस्त्र प्रहरी जवान सुमन वस्तीको भने सेढवास्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।


भारतसँग सीमा जोडिएको पर्साको पिपरडारी गाउँस्थित ओरिया खोलामा भारतीय पक्षबाट भइरहेको बालुवा उत्खन्न रोक्न शुक्रबार बिहान सशस्त्र प्रहरी निरिक्षकद्वय बसन्त जिसी र केदार राइको नेतृत्वमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीबाट सशस्त्र प्रहरीको टोली खोलामा गस्ती गएको बेला बालुवा लोड गरिएका भारतीयका तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका ट्याक्टर लिएर आउने क्रममा खोला छेउका भारतको भंगाहा, इनर्वा र बिसनपूर्वा लगायतका गाँउबाट भाला, बेल्चा, लठ्ठी लगायतका घरेलु हतियार बोकेर आएका भारतीय तस्कर र गाउँलेको समूहले सशस्त्र प्रहरीको टोली माथि आक्रमण गरेको बुझिएको छ ।
 
नेपाली भूमिको ओरीया खोलामा भारतीयले गर्दै आएको बालुवा तस्करी रोक्ने क्रममा यसअघि पनि पटक-पटक नेपाली सुरक्षाकर्मीलाई भारतीयहरुले आक्रमण गरी घाइते बनाएका थिए । भारतीय सीमासंग जोडिएको नेपालको पिपरडारी, पाण्डेपुर र बिसुनपुर्वा अवस्थित दशगजा क्षेत्रमा ओरिया खोला पर्ने भए पनि ओरिया खोलाबाट भारतीयहरुले वर्षौदेखि बालुवा उत्खनन् गरेर भारततर्फ तस्करी गर्दै आएका छन् ।


Author

थप समाचार
x