बागमती

पाँच करोडमा गोसाइकुण्डको एकिकृत विकास

इकागज |
चैत १९, २०७७ बिहीबार ७:१५ बजे

फाइल फोटो

हेटौंडा: बागमती प्रदेशले रसुवा जिल्लाको गोसाइकुण्डको एकिकृत विकासको लागि पाँच करोड रुपैयाँ खर्च गर्ने भएको छ । धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित गोसाइकुण्डको एकिकृत विकासको लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले काम गर्ने भएको हो । 

गोसाइकुण्ड गाउँपालिकाको गोसाइकुण्डमा प्रदेश सरकारले नाच घर निर्माण गर्ने भएको छ । गोसाइकुण्डसम्म जाने बाटोमा पाँच फिट चौडा भएको १३ सय मिटर लम्बाई सम्म ढुंगाको सिढी निर्माण गरिने सहरी विकास तथा भवन कार्यालय नुवाकोटका प्रमुख सञ्जय पाण्डेले बताए ।  
 
गोसाइकुण्डमा ताल वरपर ढुंगा छाप्ने, कुन्डको वरिपरी रेलिङ हाल्ने, स्नान घर, चेन्जिङ रुम, शौचालय, सोलार बत्ति जडान, खानेपानीको पाइप छ सय मिटर जडान गर्ने, दुई वटा पाटीपौवा निर्माण गरिने, गोसाइकुण्डको त्रिशुल धारामा चौबिसै घण्टा बग्ने पानीको लागि कुण्डको अन्त्यसम्म डेढ सय मिटरको नाला निर्माण गर्ने एकिकृत परियोजनामा समावेश भएको प्रमुख पाण्डेले जानकारी दिए ।  


सहरी विकास तथा भवन कार्यालय नुवकोटले धादिङ र रसुवा जिल्लामा काम गर्दै आएको छ । भवन कार्यालयका प्रमुख सञ्जय पाण्डेले गोसाइकुण्ड हालको लागि भगवान शिवको स्मारक बनाइने र निर्माण पश्चात अग्लो मुर्ति राखिने बताए ।

यसैगरी अमर सिंहको पनि स्मारक बनाइने र पछि शालिक राखिने उनको भनाइ छ । यो हप्ताभित्रै आशय पत्र जारी गरेर निर्माण कम्पनीसँग ठेक्का सम्झौता हुने उनले बताए । सम्झौता भएको २६ महिनाभित्रै निर्माण सम्पन्न हुनेगरी गोसाइकुण्डको एकिकृत विकास प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । 

गोसाइकुण्डको एकिकृत विकासको लागि गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ्ग नुर्पु तामाङ लागायत रसुवा जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधहरुसँग धेरै पटक छलफल भएको प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताए । उनले टुक्रा टुक्रा योजनाहरु भन्दा सबै योजनाहरुलाई एउटै प्याकेज बनाएर काम गर्न सुरु गरेको बताए । गोसाइकुण्डमा बन्ने सबै भौतिक पूर्वाधारको संरचना अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी हुने उनले दाबी गरेका छन् । 

गोसाइकुण्डको तालतलैया जोगाउने, संस्कृति धार्मिक विश्वासलाई कसरी जोगाउने भन्ने विषयलाई आफू गम्भीर रहेको मन्त्री फुयाँलले बताए । उनले आउँदो बैशाख ७ गते प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले गोसाइकुण्ड एकिकृत विकास परियोजनाको शिलान्यास गर्ने जानकारी दिए । जनैपूर्णिमामा हिन्दु र बुद्धिष्टले गोसाइकुण्डमा एकै थानमा पुजा गर्ने गरेका छन् । 


Author

थप समाचार
x