बागमती

जब माओवादीले धोका दियो...

इकागज |
जेठ ३१, २०७९ मंगलबार ९:५ बजे

मकवानपुर- नेकपा माओवादी केन्द्रले आफूलाई आश्वासन दिएर धोका दिएको भन्दै नेतृ लक्ष्मी माझी कृपाले पार्टी प्रवृत्तिविरुद्ध लड्ने घोषणा गरेकी छिन् ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ को निर्वाचनमा मकवानपुरको बकैया गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी माओवादीकी नेतृ माझीलाई जिल्ला समन्वय समिति मकवानपुरको सभापति बनाउने सहमतिमा ब्याक गराइएको थियो । तर हिजो ३० जेठमा जिल्ला समन्वय समितिको उम्मेदवारी दिनबाट पनि पार्टीले आफूलाई रोकेको उनको गुनासो छ ।


बकैयाको अध्यक्षको उम्मेदवारी फिर्ता लिन र जिल्ला समन्वय समिति मकवानपुरको सभापति बनाउनको लागि पार्टीको जिल्ला, प्रदेश र केन्द्र तहका नेताहरूको सहमति थियो । तर एकाएक आफूलाई यो मौका पनि नदिएको भन्दै उनले पार्टी प्रवृत्ति सही नभएकाले आफू यसविरुद्ध लड्ने बताएकी छिन् ।

'हरियो घाँस देखाएर घाटी रेट्ने काम भयो' उनले फेसबुकमा लेखेकी छन् ।

'पार्टीले जे-जे गरे पनि हामीले हाम्रो पार्टी महान, हाम्रो पार्टी सही भन्दै हिँडेकै हो, सधै यस्ता गलत प्रवृतिलाई कसरी सही भनिराख्‍ने ? ' उनले सञ्चारकर्मीहरूसँग भनिन् ।

सोमबार जिल्ला समन्वय समितिको सभापति चयनको लागि बसेको पार्टी बैठकमा समेत आफूलाई समर्थन गर्नेको बहुमत रहेको तर नाटकीय रुपमा अर्को व्यक्ति खडा गरिएको भन्दै उनले आक्रोस पोखिन् । 'बैठकमा मेरो समर्थनमा बहुमत देखिएपछि प्रदेशलाई सिफारिस गर्‍यौँ भने, पछि प्रदेशको निर्णय भन्दै अर्को निर्णय सुनाइयो' उनले भनिन् 'तर यो विषय प्रदेश कमिटीमा पुगेकै रहेनछ ।'

गाउँपालिका अध्यक्षबाट ब्याक हुनको लागि प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले मन्त्रालयमै बोलाएर जिसस सभापति बनाउने सुनौलो सपना देखाएकी थिइन् । यसैगरी पार्टी केन्द्रीय स्तरको नेताले पनि घरैमा बोलाएर सम्झाएपछि लक्ष्मी पालिका अध्यक्षबाट ब्याक भएकी थिइन् । जिल्ला समन्वय सभापतिमा लक्ष्मीलाई ल्याउँदा अल्पसंख्यक जाति, महिला दुवैको प्रतिनिधित्व हुने र यसको लागि गाउँपालिकाको कार्यपालिका सदस्यमा मनोनीत गरेर जिल्ला समन्वयमा ल्याउने बाटो तय गर्ने सहमति भएको थियो ।

यसैअनुसार उनी अध्यक्षबाट ब्याक भइन् र कार्य पालिका सदस्यमा मनोनीत पनि भइन् । तर जिसस सभापतिमा आउने बाटो बन्द गरिएपछि उनले आफूलाई विगतमा आश्वासन देखाएको तर अहिले अमानविय निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा पनि हरियो घाँस देखाएर घाटी रेट्ने काम भएको भन्दै गुनासो गरेकी छिन् ।

जिसस मकवानपुरको सभापतिको लागि पार्टीबाट सिफारिस भएका ललित घलानलाई बधाइ दिँदै उनले पार्टीको निर्णय प्रति खबरदारी गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् 'बधाई छ ललित दाई तपाईंको भद्र शालिन र प्रभावशाली व्यक्तित्वप्रति मेरो कुनै गुनासो छैन । बिडम्बना मेरो पक्षमा बहुमत प्रदेश सदस्यहरूको राय र सुझाव हुँदाहुँदै निर्णय गर्न नसक्ने मकवानपुरको महान एवं गौरवशाली पार्टी नेकपा माओवादीप्रति भने नतमस्तक छु ।'

पार्टीमा योग्यता, क्षमता र बहुमतको कदर नभएको भन्दै उनले स्टाससमा व्यङ्ग्य गर्दै भनेकी छिन् 'अल्पमतको सदर र बहुमतको बदर गर्ने अर्को महान नेकपा माओवादी प्रदेश कमिटीलाई पनि विशेष धन्यवाद ज्ञापन गर्दछु ।'

माओवादी आन्दोलनले अल्पसंख्यक जनजाति, निरक्षर तथा महिला वर्गको पक्षका सवाललाई बेवास्ता गरेको उनको उल्लेख गरेकी छिन् । पार्टीलाई चाहिँदा योग्य व्यक्ति, सामाजिक अभिभारा बोक्न अयोग्य भन्‍ने गलत बुझाइ रहेको प्रति उनले व्यङ्ग गरेकी छिन् 'हामी कुनै बेला क्रान्तिको अब्बल लाल भरिया थियौँ होला । अबको सामाजिक अभिभारा बोक्न योग्यता पुग्दैन ।'


Author

थप समाचार
x