बागमती

ललितपुर महानगरले २९ हरियाली पार्क बनाउने

इकागज |
असार १०, २०७९ शुक्रबार २२:२ बजे

फाइल फोटो

ललितपुर - ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा २९ वटा हरियाली पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाको पहिलो नगरसभामा आज नीति तथा बजेट सार्वजनिक गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले  सार्वजनिक जग्गाको संरक्षण गर्दै हरियाली पार्क निर्माण गर्ने कामलाई निरन्तरता दिन लागिएको बताए । गत पाँच वर्षमा महानगरभित्र आठ पार्क बनेको र छ पोखरीको पुनःनिर्माण भएको थियो । 

फोहर व्यवस्थापन गर्दै शहरलाई सफा र सुन्दर बनाउन बालकुमारीस्थित अस्थायी ट्रान्सफर स्टेशन आधुनिकीकरण गर्ने, फोहर स्रोतमा नै वर्गीकरण गर्ने, फोहर संकलनमा संलग्न हुने व्यवसायीलाई दर्ता गरी अनुगमन गर्ने महानगरको कार्यक्रममा उल्लेख छ । 


फोहरमैला वर्गीकरण गरी कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन कम्पोष्ट प्लान्टको स्थापना गरिने र फोहरको दीर्घकालीन व्यवस्थापनका लागि ल्याण्डफिल साइटको अध्ययन गरिने उल्लेख छ । साझा यातायात प्रालिसँगको समन्वयमा विद्युतीय बस सञ्चालन गरिने र विद्युतीय शवदाह गृह स्थापना तथा सञ्चालनमा जोड दिइने भएको छ । 

कालोपत्र भएको सडक दुई वर्षसम्म खन्न नदिइने र कालोपत्र गर्दा जमिनमुनिको पानीको स्रोतमा ध्यान पु¥याइने महानगरको कार्यक्रममा उल्लेख छ । 

आगामी आवमा उच्च गुणस्तरको अपाङ्गतामैत्री पैदल यात्रुमार्ग निर्माण हुनेछ । ढल निर्माण गर्दा पानीको स्रोतमा असर नपर्ने नीतिलाई कडाइका साथ लागु गरिने र महानगरभित्रका पुराना र नयाँ ढल संरचनाको विस्तृत अध्ययन गरी कार्यान्वयन गर्दै लगिने उल्लेख छ । परम्परागत राजकुलो टीकाभैरवबाट लगनखेलसम्म ल्याउन डिपिआर गरिनेछ भने ढुङ्गेधारा, इनार, पोखरीलगायतका पानीको स्रोतको संरक्षण गरिने बताइएको छ ।  रासस


Author

थप समाचार
x