बागमती

हेटाैंडा उपमहानगरले ल्यायाे २ अर्ब ७१ करोड ७९ लाख बजेट

सरिता दाहाल |
असार १२, २०७९ आइतबार १७:१७ बजे

मकवानपुर । बागमती प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट एघारौ नगरसभामा प्रस्तुत गरेको छ ।

१० असारमा स्थगित गरिएको नगरसभा आइतबार तोकिएको समयभन्दा २ घण्टा २० मिनेटपछि सुरु गरिएको हो । सभामा २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८२० रुपियाँ बजेट प्रस्ताव गरिएको छ ।


अनुमान गरिएको खर्च व्यहोर्ने आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख, राजस्व बाँडफाँटबाट ५८ करोड ९३ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, सङ्घीय सरकारको अनुदानबाट १ अर्व ६ करोड ९५ लाख व्यहोरिने गरी तयारी गरिएको छ । उपमेयर राजेश बानियाँले सभामा बजेट पेश गरिरहेका छन् ।

नगरपालिकाले पूर्वाधार विकास तर्फ नगरपालिका क्षेत्रमा एकिकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि क्रमागत योजनालाई प्राथमिकतामा राखेको छ । उक्त भवन निर्माणको लागि आगामी आर्थिक वर्षको लागि १५ करोड बजेट विनियोजन गरिएको छ । हेटौंडा ४ मा निर्माण हुने बहुबर्षिय योजना अन्तर्गत बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माणमा ५ करोड विनियोजन गरिएको छ।

हेटौंडामा चक्रपथ निर्माण कार्य निरन्तरताका लागि समपुरक योजना अन्तर्गत हेटौंडा वडा १६ र १७ को सडक स्तरोन्नतिका लागि ३ करोड विनियोजन गरिएको छ । यसैगरी क्याम्पा बंगुर फारमदेखि तिनकुने चोक फायरलाईनसम्म नमूना सडक निर्माण कार्य प्रारम्भ गर्न ५० लाख विनियोजन गरिएको छ । सहरी सडक मर्मत सम्भारका लागि सडक वोर्ड नेपलासँगको लागत साझेदारीमा योजना सञ्चालन गर्न १ करोड ४५ लाख विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षमा सम्झौता भई आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाहरुको भुक्तानीको लागि १७ करोड २५ लाख विनियोजन गरिएको छ। संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति एवम् अन्य संघ संस्थाहरूसँगको साझेदारीमा संचालन हुने योजनाको लागि ३ करोड विनियोजन गरिएको नगर उपप्रमुख राजेश बानियाँले बताए । यसैगरी वडा तथा बस्ती स्तरीय पूर्वाधार योजनाको लागि ३८ करोड ४० लाख विनियोजन गरिएको छ।

नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्थापन गर्न हेटौंडा खानेपानी व्यबस्थापन बोर्डसंग सहलगानी कार्यक्रमका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ। उल्लेखित आयोजनाहरु समेत पूर्वाधार विकास क्षेत्रभित्र पर्ने उर्जा, सडक बत्ति, आवास व्यबस्था, जलश्रोत सिंचाई लगायत नगर स्तरीय पूर्वाधारमा १ अर्ब ८ करोड ४२ लाख विनियोजन गरिएको छ ।


Author

थप समाचार
x