बागमती

ढाकाको कपडा उत्पादनमा जोडिदै हेटाैंडाका महिला

इकागज |
साउन १५, २०७९ आइतबार २०:३ बजे

तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै नगरप्रमुख लामा ।

मकवानपुर- कपडाको व्यवसायमा महँगो मानिने ढाकाको उत्पादनमा हेटौंडाका महिलाहरु जोडिएका छन् । हेटौंडा उपमहानगरपालिकाले प्रदान गरेको एड्भान्स ढाकाको कपडा बुनाई तालिम मार्फत पोख्त बन्‍न लागिपरेका छन् । 

उपमहनगरको सहकार्यमा गरिबी निवारणका लागि लधु उद्यम विकास कार्यक्रम (मेड्पा) बाट दुईमहिने ढाकाको कपडा बुनाई सम्बन्धी आधारभूत तालिम लिएकालाई उपमहानगरपालिकाले आफ्नै लगानीमा एड्भान्स तालिम दिएसँगै हेटौंडाका महिलाहरु ढाकाको कपडा उत्पादनमा जोडिएका हुन् । 


उपमहानगरपालिकाले हेटौंडाको १५, १७ र १८ नम्बरका ११ जना महिलाहरुलाई ढाकाको कपडा तथा अन्य सामग्री उत्पादनको लागि एड्भान्स तालिम दिएको हो । उनीहरुले तालिममा ढाकाको धागो मार्फत सल, पछ्यौरा, साडी, हाते व्याग कुर्ता र खादा जस्ता सामग्रीहरु उत्पादन थालेका छन् । 

करिब ३ लाख रुपैयाँको लगानीमा उपमहानगरले ३ वटा वडाका ११ जना महिलाहरुलाई एड्भान्स तालिम दिँदै आएको छ । महिलालाई आत्मनिर्भर बनाउन यस्तो तालिम प्रभावकारी हुने हेटौंडा उपमहानगरपाकिला आर्थिक विकास महाशाखाका प्रमुख गंगा चौलागाईले बताइन् । अहिले तालिमको क्रममै सहभागीले निकै महँगो मूल्यका सामानहरु उत्पादन गर्न थालेको उनले बताइन् । 

सहभागीलाई १२ वटा तानमार्फत ढाकाका विभिन्न सामान उत्पादन गर्नका लागि सिन्धुलीका बेलिमाया जिनेल मगर उनको सहयोगीले प्रशिक्षण दिइरहेका छन् । 

तालिममा सहभागीलाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले तालिमपछि ढाकाको कपडा तथा अन्य सामग्रीको उत्पादनमा जोडिदै आर्थिक उपार्जनमा लाग्न आग्रह गरिन् । उनले सधै परिवारको ऋण बोक्ने मात्र नभई उत्पादनसँग जोडिएर आफै सक्षम बन्ने कार्यमा लाग्न प्रत्सान गर्दै तालिम लिएका महिलाले वर्ष भरीमा धेरै उत्पादन र बिक्री गर्नेलाई सम्मान गरिने बताइन् । 

उनले भनिन्, ‘व्यवसायमा जोडिनका लागि आर्थिक रुपमा असहज भए उपमहानगरपालिका तयार छ, तर काम गरौं आर्थिक समस्या पर्दैन ।’ नगरप्रमुख लामाले उत्पादन भएको सामग्री बिक्रीका लागि उपमहानगरपालिकाले वातावरण निर्माण गर्ने बताइन् ।


Author

थप समाचार
x