बागमती

बागमतीमा डेंगुबारे अनुसन्धान र निगरानी गरिने

इकागज |
भदौ २८, २०७९ मंगलबार ७:१५ बजे

मकवानपुर - पछिल्लो समय महामारीको रुप लिइरहेको डेंगुको संक्रमणबारे बागमती प्रदेश सरकारले अनुसन्धान एवं निगरानी गर्ने भएको छ । प्रदेश सरकारले डेंगुको अनुसन्धान तथा निगरानीको लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रसँग सहमति गरेको छ ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालय अन्तरगत मकवानपुरको हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबीच यस्तो सहमति गरीएको हो । प्रदेशमा फैलिएको डेंगु रोगको अनुसन्धान एवं निगरानी गर्न मन्त्रालयले विशेष चासे राख्ने छ ।


स्वास्थ्य मन्त्री निमा लामाको उपस्थितिमा मन्त्रालयका सचिव बद्रीबहादुर खड्का र केन्द्रका निर्देशक डा. विश्वबन्धु बगालेबीच सम्झौता पत्रमा हस्ताक्षरण गरिएको हो । केन्द्रले डेंगु प्रभावित बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुरमा यसको प्रभाव, संक्रमणको अवस्था, निगरानीका लागि अपनाउनुपर्ने रणनीतिलगायतका क्षेत्रमा अनुसन्धान गरि सुझाव दिने मन्त्रालयका प्रवक्ता दीपक तिवारीले जानकारी दिए ।

अनुसन्धान तथा निगरानीले बागमती प्रदेशमा डेंगु रोग नियन्त्रणका लागि गरिएका प्रयासलाई थप व्यवस्थित गर्न सहयोग पुग्ने उनको भनाइ छ । बागमती प्रदेशमा अहिलेसम्म ६ हजार ६ सय ५४ जना डेंगुका बिरामी रहेका मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुरमा सबैभन्दा बढि ३ हजार ७९ जना, काठमाडौंमा १ हजार ७ सय ९७ जना, मकवानपुरमा १ हजार ४५ जना, चितवनमा १ सय ७९ जना, भक्तपुरमा १ सय ७० जना, धादिङमा १२१ जना, नुवाकोटमा १४, सिन्धुली ६६ जना, रामेछाप २२ जना, दोलखा १० जना, काभ्रे ४४, सिन्धुपाल्चोकमा ७ जना बिरामी रहेका छन् ।

पछिल्लो समय डेंगुको कारण मृत्युहुनेहरूको संख्या पनि बढ्न थालेपछि यसबारे कडा निगरानी अबश्यक ठानिएको मन्त्री लामाले बताए । हेटौंडा उपमहानगरपालिकाले पनि पछिल्लो साता दैनिक लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान जारी राखेको छ ।


Author

थप समाचार
x