बागमती

सवारी दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू

इकागज |
असोज १४, २०७९ शुक्रबार १९:४३ बजे

मकवानपुर- चाडपर्व नजिकिएसँगै सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उल्लंघन हुन थालेपछि टाइम कार्ड लागू गरिएको छ । 

सवारी दुर्घटनालाई न्यूनीकरण गर्न तथा सवारीको गति नियन्त्रण गर्न बागमती प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरूमा टाइम कार्ड लागू गरिएको छ । सिन्धुली जिल्ला हुँदै जाने विपि राजमार्ग स्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिलेदेखिनै टाइम कार्ड लागू भएको छ । चाडपर्वलाई लक्षित गरी थप मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई आजदेखि लागू भएको हो । 


थप टाइम कार्ड लागू भएका राजमार्गहरूमा मुग्लिङ नारायणगढ खण्ड, पूर्व पश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, त्यसैगरी पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र विपि राजमार्गको मंगलटारदेखि काभ्रेमञ्ज्याङसम्म थप गरिएको हो । टाइम कार्ड लागू गरिएका उल्लेखित राजमार्गमा निश्चित दूरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाइएको बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बताए । 

यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले हेटौंडा १५ चुरियामाई पिपलचौतारा र मनहरी गाउँपालिका ७ मनहरीबाट पूर्व पश्चिम राजमार्ग रुटमा चल्ने यात्रुबाहक बसहरूमा पनि टाइम कार्ड लागू गरिएकाे छ ।
 


Author

थप समाचार
x