बागमती

बागमतीका बहालवाला मुख्यमन्त्रीसहित उपसभामुख र यी पाँच मन्त्री जो फेरि सांसद चुनिए

इकागज |
मंसिर १२, २०७९ सोमबार १०:३३ बजे

मकवानपुर - बागमती प्रदेशमा बहालवाला र पूर्व मन्त्रीहरू फेरि प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । यसअघि नै संसदीय अभ्यास गरिसेकाका उनीहरूलाई जनताले फेरि जनमत दिएका हुन् । 

बागमती प्रदेश सरकारमा गत कार्यकालमा मन्त्री बनेका १८ जनामध्ये ५ जना र मुख्यमन्त्री तथा सभामुख समेत फेरि उम्मेदवार बनेका थिए । बाँकी मन्त्रीमध्ये केहीले उम्मेदवार बन्नकै लागि पार्टी भित्रैबाट अवसर पाएनन् भने केहीले स्वच्छाले नै सक्रिय राजनीतिबाट पछि हट्ने निर्णय गरे  ।


बागमती प्रदेशका तेस्रो मुख्यमन्त्री बनेका राजेन्द्र प्रसाद पाण्डे प्रदेशसभा छाडेर प्रतिनिधिसभामा उम्मेदवार बनेका थिए । उनलाई दोहोर्‍याएर जनमत प्राप्त भएको छ ।

उनले धादिङ जिल्ला प्रतिनिधि सभा १ बाट जित हासिल गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट गठबन्धनको उम्मेदवार बनेका उनले ३५ हजार ९३४ मत ल्याउँदै प्रतिनिधि सभाको यात्रा सुरु गर्ने जनमत पाएका हुन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरे । त्रिपाठीले २७ हजार ९५३ मत पाएका थिए ।

उनी सत्ता गठबन्धनबाट संघीय संसद्का लागि धादिङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभातर्फको लागि उम्मेदवार बनेका हुन् । बहालवाला मुख्यमन्त्री पाण्डले प्रदेश सरकार छाडेर संघीय सरकारमा जाने मनोकांक्षा बनाउँदा प्रदेश सरकारमै दोहोर्‍याउने मन्त्रीहरू धेरै थिए ।

यसैगरी बागमती प्रदेश सरकारमा पहिलो उपसभामुख बनेकी राधिका तामाङले पनि पुनः प्रदेश सदस्यमा आउने मौका पाएकी छिन् । तामाङलाई नुवाकोट जिल्ला प्रतिनिधि सभा १ को १ बाट प्रदेश सभाको लागि जनमत प्राप्त भएको हो । सत्ता गठबन्धनको समर्थनमा तामाङले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट उम्मेदवारी दिएकी थिइन् । उनले १६ हजार १६९ मत पाउँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुशीलकुमार खड्काले ११ हजार ३५० मत पाए । 

बाहालवालामध्ये नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अधिकांशले फेरि उम्मेदवारी दिने मौका पाएका थिए । माओवादी केन्द्रबाट प्रदेशको मन्त्री बनेका ५ जना मध्ये ३ जना यस पटक पनि उम्मेदवार बनेका थिए ।

त्यस्तै एकीकृत समाजवादीबाट पनि प्रदेश सरकारमा मन्त्री बनेका ५ जनामध्ये १ जना फेरि उम्मेदवार बनेका छन् । प्रदेश सरकारमा सबैभन्दा धेरै मन्त्री रहेको कांग्रेसले भने गत निर्वाचनमा सबैभन्दा कम उम्मेदवार बनाएको थियो । कांग्रेसका ८ जना मन्त्रीमध्ये १ जनाले मात्रै पुन उम्मेदवारी दर्ता गराएका थिए ।

कुन मन्त्री कहाँबाट उम्मेदवार थिए, कसले जिते ?
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल प्रदेशसभा सदस्यका लागि चितवन–१ (ख) बाट उम्मेदवार बनेका थिए । उनी एकीकृत समाजवादीबाट सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका हुन् । कृष्णप्रसाद शर्मा खनालले १५ हजार ५०७ मत ल्याउँदा उनका निकाट प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रकाश खनाल शैलेसले १४ हजार ७६८ मत ल्याएका थिए । 

त्यस्तै माओवादी केन्द्रका नेता तथा बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल धादिङ–१ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका थिए । आगामी प्रदेश सरकारमा मुख्यमन्त्री बन्ने अभिलाषका साथ उम्मेदवारी दिएका जमकट्टेले  १९ हजार ९०३ मत ल्याइ प्रदेश सदस्यमा पुनः निर्वाचित भएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी एमालेका गजेन्द्रप्रसाद थपलियालाई पराजित गराएका थिए । थपलियाले जम्मा १२ हजार ४७८ मत ल्याए । 

प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान पनि प्रदेशसभा सदस्यका लागि माओवादी केन्द्रबाट मकवानपुर–२ (क) मा उम्मेदवार बनेकी थिइन् । उनले एमालेका उम्मेदवार विष्णुप्रसाद ढकाललाई पराजित गरेकी छिन् । मोक्तानले १९ हजार ८७३ मत ल्याउँदा नेपाल कम्युनिष्ट पार्टी एमालेका विष्णुप्रसाद ढकालले १९ हजार ५५१ म्त ल्याए । ढकाललाई पराजित गर्दै मोक्तानले प्रदेश संसदमा आगामी कार्याकालको लागि बाटो तया गरेकी छिन् । 

यसैगरी प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल माओवादी केन्द्रबाट प्रदेशसभामा काभ्रे–१ (क) मा उम्मेदवार बनेका थिए । उनले २० हजार ७२० मत ल्याउँदै पुनः प्रदेश सांसद बन्ने मौका पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एमालेका दिलबहादुर तामाङले ११ हजार २७८ मत पाए ।

कांग्रेसबाट मन्त्री बनेका प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री बनेका दिपेन्द्र श्रेष्ठ गत निर्वाचनमा प्रदेशसभा सदस्यका लागि काठमाडौं–१ (क) मा उम्मेदवार बनेका थिए । उनी प्रदेश मन्त्रीमध्ये कांग्रेसबाट टिकट पाउने एकमात्र व्यक्ति हुन् । उनी सत्ता गठबन्धनको समर्थनमा सो क्षेत्रमा चुनाव मैदानमा आएर, जित हासिल गरे । श्रेष्ठले ६ हजार ३०० मत ल्याउँदा उनका प्रतिष्पर्धि राप्रपाका नबिन शाहीले ३ हजार ५०४ मत ल्याएका थिए ।

अबको आवश्यकता निष्ठाको राजनीति
पछिल्लो समय राजनीतिलाई सेवामुलकभन्दा आर्थिक उपार्जनकै रुपमा लिन थालिएकोले मन्त्री वा सांसद बनेपछि अर्कोलाई मौका दिनुभन्दा आफू नै आउने आकाक्षा राख्ने गलत प्रवृत्ति बढेको छ । प्रदेशमा पहिलो मुख्यमन्त्री बनेका डोरमणि पौडेल, महिलो महिला मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यलगायत केहीले आफूहरू सक्रिया राजनीतिमा नआउने भन्दै स्वच्छाले सांसद हुनबाट बाहिरिए । यस्तो प्रवृत्ति राजनीतिमा आवश्यक हुने विश्लेषकहरू बताउँछन् ।

एक कार्यकाल सेवाको अनुभव लिएपछि अर्को नयाँ नेतृत्व तयार पार्ने, अर्कोलाई अवसर दिने संस्कारको विकास हुनु जरुरी रहेको बताउँछन, नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीका युवा नेता तथा मकवानपुर जिल्ला थाहा नगरपालिकाका निवर्तमान मेयर लवशेर विष्ट । 'राजनीति कमाउने स्थान हैन, ५ वर्ष सेवा गरेपछि, एउटा जीवनको लागि त्यो प्रयाप्त हो, र अरुलाई सेवाको मौका दिनुपर्छ,' विष्ट भन्छन्, दोहोर्‍याएर त्यही व्यक्ति त्यही जाँदा राजनीतिकमा निष्ठाको खडेरी लाग्छ ।'

नेताहरूले पद छाड्नै नखोज्नु, उत्तराधिकारी बनाउनै नखोज्नु गलत संस्कार भएको मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको बुझाइ छ । 'चुनाव जित्नको लागि आर्थिक चलखेलदेखि सबैप्रकारको कमद चाल्न थालियो, यस्तो प्रवृत्तिले विकासभन्दा विनास ल्याउँछ' पत्रकार विष्टले भने । अबको पाँच वर्षमा राजनीतिक वातावरणले नयाँ मोड लिने संभावना उच्च रहेको उनले बताए ।

विगतमा र यसपटक फेरि प्राप्त जनमतको सम्मानको लागि बागमती प्रदेश सरकारमा निर्वाचित प्रतिनिधिहरूले आगामी ५ वर्ष गर्नुपर्ने कामहरू निकै छन् । राजनीतिक विश्लेषक तथा प्राध्यापक अर्पण पराजुली भन्छन्, ‘अब प्रदेशको सामाजिक तथा भौतिक आवश्यकताहरूलाई सम्बोधन हुने गरी काम गर्नु जरुरी छ, नत्र अब उहाँहरूले जनमतको कदर गर्ने सक्ने संभावना छैन, साथै प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठ्न थालेको बेलामा उहाँहरूले प्रदेश सरकारको अवश्यकता र औचित्यलाई कामले पुष्टि गर्नुपर्छ ।'
 


Author

थप समाचार
x