बागमती

अनलाइन बाल संरक्षण सवालबारे ११ बुँदे अनुरोध पत्र

इकागज |
बैशाख २६, २०८० मंगलबार २१:५१ बजे

मकवानपुर- अनलाइनमा बालबालिकामाथि हुन सक्ने दुर्व्यवहार रोक्न तथा न्यूनीकरण गर्न बाल संरक्षण सवालबारे सरोकारवालाहरूले प्रदेश तथा स्थानीय सरकारलाई अनुरोध पत्र बुझाएका छन् ।

मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा सहभागीहरूले अनलाइनमा बाल संरक्षण सवालबारे सरोकारवाला निकायहरूलाई झक्झक्याउने उद्देश्यले ११ बुँदे अनुरोध पत्र तयार पारेर प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान र हेटौंडा उपमहानगर प्रमुख मिनाकुमारी लामालाई हस्तान्तरण गरेका छन् ।


इन्टरनेट अनलाइनमा बालबालिकाको संरक्षणसम्बन्धी मुद्दा हेर्ने एक मात्र निकाय साइवर ब्युरो काठमाडाैँमा मात्रै केन्द्रित रहेकोले यसलाई प्रदेश तहमा पनि विस्तार गरी यसको कार्यसम्पादनलाई व्यापक बनाउँदै साइबर ब्युरोमा बाल संरक्षणको निम्ति विशेष युनिटको समेत व्यवस्था गर्नु पर्ने सुझाव दिइएको छ ।

अनलाइन बाल संरक्षणको विषयवस्तुलाई संघसंस्था तथा सरोकारवालाहरूले आफ्ना हरेक कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धतासहित बाल संरक्षण नीतिमा अनलाइन बाल संरक्षणको सवाल अनिवार्य रुपमा समावेश हुनु पर्ने भनिएको छ ।

तीनै तहको सरकारले वार्षिक बजेट तथा योजना निर्माणमा अनलाइनमा बाल संरक्षण, सकारात्मक अभिभावक शिक्षा सम्बन्धी बजेट तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिनु पर्ने, संसदमा विचाराधीन रहेको सूचना प्रविधि विधेयकलाई छलफलमा ल्याइ अनलाइनमा बाल संरक्षण सम्बन्धी व्यवस्था समावेश गरी संसदबाट तुरुन्त पास गरिनुपर्ने, प्रत्येक स्थानीय तहका बालकल्याण अधिकारीलाई अनलाइनबाट हुने दुर्व्यवहारको बारेमा क्षमता अभिवृद्धि गरी सचेतना तथा कानुनी प्रक्रियामा अभियान चलाउनुका साथै बाल कल्याण अधिकारीलाई तत्सम्बन्धी सूचना स्रोत व्यक्तिको रुपमा व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ।

इन्टरनेट सेवा प्रदायकहरूको समन्वयमा अनलाइन शिक्षा र संरक्षण सम्बन्धी कार्यक्रम अभियान कै रुपमा लैजान अनुरोध गर्ने समेत सुझाव दिइएको छ।

यसैगरी अनलाइनमा बाल संरक्षण विषयमा तीनै तहका सरकारले सञ्चारका मध्यमबाट इन्टरनेट अनलाइन सम्बन्धी भिडियो, जिङ्गल तथा डिजिटल सूचनामूलक सामग्रीहरू निर्माण गरी प्रचारप्रसारलाई व्यापक बनाउनु पर्ने, नेपाल प्रहरीद्वारा सञ्चालित समुदाय प्रहरी साझेदारी कार्यक्रममा अनलाइनमा बाल संरक्षण विषयलाई समावेश गरिनु पर्ने,अनलाइनमार्फत हुने अपराधबाट बच्न विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप र पाठ्यक्रममा समावेश गराउन शैक्षिक नीतिमा स्पष्ट पारिनुपर्ने जस्ता सुझाव पनि दिइएको छ ।

इन्टरनेट अनलाइन अपराध मौलाउँदै गरेको अवस्थामा बालबालिका, किशोरकिशोरी, युवालाई पर्न गएको मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न मनोविमर्शकर्ताको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

अनलाइनमा बालबालिकामाथि हुन सक्ने दुर्व्यवहारलाई रोक्न तथा न्यूनीकरण गर्न बाल संरक्षण सवालबारे सरोकारवालाहरूको ध्यानाकर्षण गराइएको हो ।

आज मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा सहभागीहरूले अनलाइनमा बाल संरक्षण सवालबारे सरोकारवाला निकायहरूलाई झक्झक्याउने उद्देश्यले ११ बुँदे अनुरोध पत्र तयार पारेका हुन् । उक्त अनुरोध पत्र सिविन बाल हेल्प लाइनले सामाजिक विकास मन्त्रालय बागमती प्रदेश र हेटौंडा उपमहानगरपालिकामा बुझाएको छ ।

सामाजिक विकास मन्त्री कुमारी मोक्तान र उपमहानगर प्रमुख मिनाकुमारी लामालाई बुझाइएको छ । सिविन नेपालको आयोजनमा अनलाइनमा बाल संरक्षण विषयमा प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा सहभागीहरूले यस्तो अवधारणा प्रस्तुत गरेका हुन् । कार्यक्रममा सिविन काठमाडाैँका परियोजना व्यवस्थापक माधव लोहनीले सहजीकरण गरेका थिए । मन्त्री मोक्तान तथा नगरप्रमुख लामाले आगामी आवमा उक्त सुझावलाई समावेश गर्ने प्रतिबद्धता गरेका छन् ।

उक्त अनुरोध पत्र मकवानपुर जिल्लाको १० वटै स्थानीय तहहरूमा प्रदान गरिने सिविन बाल हेल्पलाइन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवलीले बताए ।
 


Author

थप समाचार
x