बागमती

बागमती प्रदेशसभाको बैठक भदौ १८ का लागि आह्वान

इकागज |
भदौ १२, २०८० मंगलबार १९:१७ बजे

मकवानपुर- बागमती प्रदेशसभाको बैठक अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।

सोही दिनको ११ः३० बजे संसद् सचिवालयमा कार्यपरामर्श व्यवस्थापन समितिको बैठक बसेर अपराह्नमा बस्ने संसद् बैठकका लागि कार्यसूची तयार पार्ने भएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।


गत असार २१ गते बसेको प्रदेशसभाको बैठकले सरकारको विभिन्न दुई वटा विधेयक पारित गरिएपछि अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका थिए ।

उक्त दिन बस्ने बैठकमा प्रदेशसभाका सदस्यलाई उपस्थित हुन सूचना सम्प्रेषित गरिसकेको पनि प्रदेशसभा सचिवालयले जनाएको छ । त्यसैगरी बागमती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट एउटा नयाँ विधेयक आज दर्ता गरिएको छ ।

प्रदेशसभा सचिवालयमा दर्ता गरिएको विधेयक विज्ञान प्रवृत्ति, नवप्रवर्द्धन तथा विकास कोष सञ्चालन गर्न बनेको विधेयक, २०८० रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । रासस


Author

थप समाचार
x