बागमती

नीति तथा योजना आयोगको सदस्यमा दोलखाका प्रदिप कुमार मैनाली

इकागज |
भदौ २७, २०८० बुधबार २०:३८ बजे

फाइल फोटो

मकवानपुर - बागमती प्रदेश मन्त्रिपरिषद्ले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दोलखाका प्रदिप कुमार मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बुधबार बसेको बैठकले मैनालीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठका अनुसार बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।


त्यस्तै, प्रदेशको एकल अधिकारमा संकुचन आउने गरी संघीय संसदबाट सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन, २०७९ पारित भएको भन्दै त्यसको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

नेपालको संविधानको अनुसूची ६ मा सवारी साधन कर, यातायात र प्रदेश लोकमार्ग प्रदेशको एकल अधिकार सूचीमा समावेश गरिएकोमा त्यसमा केन्द्र सरकारले उक्त ऐन मार्फत संकुचन ल्याएको भन्दै प्रदेश सरकार केन्द्र सरकार विरुद्ध सर्वोच्च जान लागेको हो ।

यसैगरी प्रदेश सरकारले ११ औं तहमा बढुवा भएका पूर्णबहादुर दर्जीलाई प्रदेश सभा सचिवालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेश निजामती ऐन लागू भएपछि ११ औं तहमा बढुवा भएका सचिवहरू मध्येबाट दर्जीलाई प्रदेश सभा सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।


Author

थप समाचार
x