बागमती

मेयर बालेन्द्र शाह टाइम म्यागेजिनको सय प्रभावशाली व्यक्तित्वको सूचीमा

इकागज |
भदौ २८, २०८० बिहीबार १६:७ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् । 

विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका उनलाई बुधबार सो पत्रिकाको अनलाइन संस्करणले एक सय उदयीमान नेतृत्वको सूचीमा समेटेको हो ।


स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय प्रमुख शाहले यथास्थितिमा मतदाताको भावनालाई सामाजिक सञ्जाल टिकटक, ट्विटर र इन्स्टाग्राम प्रयोग गर्दै आफ्नो पक्षमा पार्न सफल भएको पत्रिकाले उल्लेख गरेको छ ।

गोरखा भूकम्पले तहसनहस गरेको काठमाडौँमा प्रमुख शाहले फोहरको राम्रो विसर्जन र सरसफाइ, सुरक्षित पिउने पानीको व्यवस्था, सफा सडक र सहरी विकासका साथसाथै सांस्कृतिक सम्पदाको संरक्षणलगायत सरल प्रतिवद्धता र अभियान गरेर निर्वाचनमा सफल भएको पत्रिकामा जनाइएको छ । 

साथै फोहरको वर्गीकरण गर्न प्रारम्भ गरेको तथा फोहर व्यवस्थापनका लागि सम्झौतामा हस्ताक्षर गरेकोसमेत पत्रिकामा उल्लेख छ । प्रमुख शाहले सहरका गैरकानुनी भवन भत्काउँदा तथा व्यवस्थापन गर्दा सहरी गरिबमा प्रभाव परेको र आलोचना भएकोसमेत जनाइएको छ । पत्रिकाले विभिन्न क्षेत्रमा एक सय उदयीमान व्यक्तित्वको सूची प्रकाशन गरेको छ ।
रासस


Author

थप समाचार
x