बागमती

बागमती प्रदेश सभामा डाक्टर कुटपिट र सुन काण्ड

इकागज |
भदौ ३०, २०८० शनिबार १६:५३ बजे

मकवानपुर - बागमती प्रदेश सभाको शनिबारको बैठकमा हेटौडामा भएको डाक्टर कुटपिट र १ किलो सुन काण्डले प्रवेश पाएको छ । 

नेकपा एमालेका सांसद एकालाल श्रेष्ठले गत भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालमा भएको डाक्टरहरुमाथिको हातपातको विषयमा समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताए ।


बागमती प्रदेशसभाको दोस्रो अधिवेशनको ३१ औं वैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले घटनामा दोषी को हो भनेर विशेष समिति बनाएर छानबिन गर्नुपर्ने बताए । डाक्टरमाथि आक्रमण हुनुपर्ने अवस्थाको कारण के गरि सृजना भयो भन्ने विषय पनि महत्वपूर्ण रहेको भन्दै उनले गम्भीर अनुसन्धानपछि निचोडमा पुग्नुपर्ने उनले बताए ।

आजै  मकवानपुरमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले प्रदेश सभा भवन अगाडि धर्ना दिएका दिए । काम गर्ने वातावरण हुनु पर्ने, दोषीलाई कारबाही गरिनु पर्ने, चिकित्सकलाई सुरक्षाको प्रत्याभूति  दिलाउनु पर्ने लगायतका माग राख्दै प्रदेश सांसदको ध्यानाकर्ण गराएका थिए ।

यसैगरी केही दिनअघि जिल्ला प्रहरी परिसर, काठमाडौंले बरामद गरेको करिब १ किलो सुन प्रकरणमा बागमती प्रदेशका मन्त्री समेत संलग्न भएकोमा नेकपा एमालेले जवाफ माग गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाको नाम सुन प्रकरणमा संलग्न भएको भन्दै सभा समक्ष उनले जवाफ दिनुपर्ने माग गरेका हुन् । थपलियाले भने ‘मन्त्रीको नाम उल्लेख गरेर सुन तस्करी भएको सुनिन आएको छ। यस विषयमा सरकारले सदनलाई जानकारी गराउनुपर्दछ ।’

गत मंगलबार प्रहरीले विशेष सूचनाका आधारमा मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत ल्याएको सुन प्रकरणमा मन्त्री लामाको नाम जोडिएर समाचार आएको थियो । सो प्रकरणमा मन्त्री लामाको नाम मुछिएको भन्दै थपलियाले सरकारले र मन्त्रीले समेत जवाफ दिनुपर्ने बताए ।

यद्यपि मन्त्री लामाले एक किलो सुन प्रकरणमा आफ्नो नामसमेत जोडिएको भन्दै आपत्ति जनाएका छन् । मन्त्री र काँग्रेस जिल्ला समिति काभ्रे सभापतिको हैसियतमा आफ्नो धेरै जनसम्पर्क हुन्छ, अर्कै प्रसंगमा खिचेको तस्विरका कारण आफ्नो नाम जोड्नु गलत हुने उनले बताए ।

१ किलो सुन प्रकरणमा काभ्रेका तरुण दलका नेता विकास लामा प्रहरीको खोजी सूचीमा परेका छन् । उनको गाडी प्रहरीले बरामद गरेको छ । विकाससँग सम्बन्ध रहेको भन्दै आफ्नो नाम जोडिएकामा नेता तीर्थ बहादुर लामाले आपत्ति जनाएका हुन् । ‘मलाई विवादमा ल्याउन चाहने दुराशयका साथ भएका यस्ता कार्यप्रति म सचेत छु’ उनले भनेका छन् ।

मन्त्री लामाले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् । छानबिनका लागि आफूले पनि सहयोग गर्ने उनले बताए ।


Author

थप समाचार
x