बागमती

एमाले बागमती प्रदेश अधिवेशन : अझै सुरु भएन बन्द सत्र, कमजाेर बन्दै सहमतिकाे प्रयास

इकागज |
असोज ९, २०८० मंगलबार १०:५५ बजे

मकवानपुर । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको बन्द सत्र आज हुँदैछ। अधिवेशनको बन्द सत्र आज बिहान ८ बजेबाट सुरु भनिएकाे भए पनि अहिलेसम्म छलफल चलिरहेकाेले बन्द सत्र सुरु भएकाे छैन ।

काठमाडाैकाे प्रज्ञा भवन कमलादीमा बन्द सत्रकाे तयारी छ । बन्दसत्रमा राजनीतिक, सांगठनिक प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया भाेलि १० गते हुनेछ। अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित २४० सदस्यीय समिति चयन गर्ने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ। यस अघिकाे ४४७ सदस्यीय समितिलाई अहिले सानाे पारिएकाे हाे ।


अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट १ हजार ८० जना प्रतिनिधि छनोट भएको प्रदेश अध्यक्ष केशवराज पाण्डेले जानकारी दिए । उनका अनुसार, छनोट भएका प्रतिनिधि मध्ये ३३ प्रतिशत महिला र १० प्रतिशत युवा (४० वर्ष मुनिका) अनिवार्य गरिएको छ ।

अधिवेशनमा नेतृत्व चयन सर्वसम्मत रूपमा गराउन पहल भइरहेको बुझिएकाे छ। सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ। 

बागमतीको अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, रचना खड्का, बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ,  वर्तमान अध्यक्ष  केशवराज पाण्डे र सचिव विजय सुवेदी, पूर्वसांसद कृष्णभक्त पोखरेललगायतका नेताहरुले आकांक्षा व्यक्त गरेका छन्। सहमतिको प्रयासमा केन्द्रीय पदाधिकारी नै खटिएका छन्।

केन्द्रीय सदस्य ढुंगेलले सकेसम्म सहमतिमा नेतृत्व चयन हुने बताए। ‘सहमतिबाट नै नेतृत्व चयन हुने प्रयास भइरहेको छ। सहमति नभएको खण्ड एमालेले लोकतान्त्रिक प्रक्रिया अगाडि बढाउँछ। उम्मेदवारी दर्ता हुन्छ, स्वस्थ प्रतिस्पर्धा हुन्छ। निर्वाचनमार्फत प्रतिनिधिले नेतृत्व चयन गर्नेछन्।’ सहमति भएको खण्डमा सहमतिबाटै र निर्वाचन भएको खण्डमा पनि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएर प्रदेशको नेतृत्व लिने मनस्थिति बनाएकाे बागमती प्रदेशका पूर्व अर्थमन्त्री ढुंगेलले बताए ।

सहमतिबाट नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदान गराउने तयारी एमालेले गरेको छ। अधिवेशनकाे उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयन चुनावी प्रक्रियाबाट हुने संकेत गरेपछि आकाक्षिहरु अझै आशावादी देखिएका छन् । तर उनले प्यानल बनाएर चुनाव लडेको भेटिए नेतृत्वले कारबाही गर्ने चेतावनी दिएका थिए ।

अध्यक्षमा दाहाल र ढुंगेल भिड्ने लगभग निश्चित

अध्यक्ष एक पदकाे लागि झण्डे दर्जनबढीले मनशाय राखेपछी निर्वाचन हुने लगभग पक्का भएकाे छ । सहमतीकाे लागि अन्य आका‌क्षिहरु पछी हटेपनि ढुंगेल र दाहाल भने एक अर्काेलाई नछाेड्ने अवस्थामा छन् ।

दाहालले मकवानपुरको पार्टी प्रमुख भएर दुई कार्यकाल काम गरिसकेका छन् भने तीनपटक सांसद भएका छन् । मकवानपुरबाट २०४८, २०५६, २०७४ मा प्रतिनिधिमा निर्वाचित दाहाल २०५१ मा भने पराजित भएका थिए। उनले २०७४ को कार्यकालमा अर्थ समितिको सभापति भएर काम गरेका थिए।

ढुंगेल रामेछापको पार्टी अध्यक्षका रुपमा तीन कार्यकाल काम गरको छन्। प्रतिनिसभामा चारपटक टिकट पाएर पराजित भए पनि २०७४ मा प्रदेशसभा जितेर बागमति प्रदेशको अर्थमन्त्री भएका थिए। दाहाललाई पोलिटब्युरो सदस्य गोकुल बास्कोटा र ढुंगेललाई अर्का नेता महेश बस्नेत पक्षले साथ दिएका छन्।


Author

थप समाचार
x