बागमती

एमाले बागमती अधिवेशनः अध्यक्षमा दाहाल र ढुंगेलको उम्मेदवारी दर्ता, निर्वाचन भाेलि

इकागज |
असोज १०, २०८० बुधबार १८:१७ बजे

मकवानपुर । नेकपा एमाले बाग्मती प्रदेशको प्रथम अधिवेशनको अवधि लम्बिएपछि भोलि बिहीबार मतदान हुँदैछ । असोज ८, ९ र १० गतेका लागि तय भएको अधिवेशन अरू १ दिन लम्बिएको हो ।

प्रदेश अध्यक्ष पदमा रामेछाप जिल्लाका कैलाश ढुंगेल र मकवानपुर जिल्लाका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गरेका छन् । ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहेका छन् । ढुंगेलका प्रस्ताव श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष र देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन् ।


त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् । दाहालका प्रस्तावक लामा मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका अध्यक्ष तथा पार्टी जिल्ला उपसचिव हुन् ।

ओलीको संकेत अनुसार प्रदेश इन्चार्ज गुरु बरालले नेताहरुसँग छलफल अझै जारी राखेका छन् । ‘सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने भनेपछि आकांक्षीहरु मध्ये जसले जसलाई पनि छोड्न अवस्था बन्नुपर्नेमा कैलाश ढुंगेलको नाममा सर्वसम्मति गरौं भनेर छलफल राखिएकोले निष्कर्षमा पुग्न नसकिएको दाहाल निकट स्रोतको दाबी छ । 

नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास सफल हुन सकेन । निर्वाचन मार्फत पदाधिकारी चयन गर्नु पर्ने भएकोले अधिवेशन लम्बिएको हो । असोज ८ गते उद्घाटन गरिएको अधिवेशनको आज बुधबार निर्वाचन कार्य तालिका सार्वजनि गरिएको थियो भने मंगलबार बन्द सत्र सकिएको थियो । बन्द सत्रले बागमती प्रदेश इन्चार्ज समेत रहेका गुरु बरालको नेतृत्वमा ११ सदस्यीय निर्वाचन मण्डल गठन भएको छ । 

नेतृत्व चयनपछि अधिवेशन समापन हुने भएकाले अधिवेशन अवधि लम्बिएको हो । केन्द्रीय नेताहरूले समेत चासोका साथ हेरेको अधिवेशनमा नेतृत्वका लागि आकांक्षिहरूको लर्को लाग्दा अधिवेशन थप रोचक बनेको ती प्रतिनिधिले बताए ।

एमाले बागमती प्रदेश कमिटी अध्यक्ष पदमा नेतृत्वले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको छैन । प्रदेश अध्यक्ष पदका लागि नेताहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, केशव पाण्डे र सानु श्रेष्ठले आंकाक्षा देखाएका थिए । अध्यक्षमा पाँच आकांक्षी देखिए पनि अन्तिममा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहालबीच प्रतिस्पर्धा हुने देखिएको अधिवेशन प्रतिनिधि बागमतीका नेता बताउँछन् । आकांक्षीहरूले एकले अर्कालाई छोड्न तयार नभएकाले निर्वाचनमार्फत नै नेतृत्व चयन गर्नु पर्ने अवस्था आएको हो ।

सोमबार भृकुटीमण्डपमा अविधेशनको उद्घाटन गर्दै अध्यक्ष केपी ओलीले प्यानल बनाएर प्रतिस्पर्धामा गए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएर सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि दबाबसहितको आग्रह गरेका थिए । लुम्बिनी प्रदेशमा आफ्नो इच्छा विपरीत नेतृत्व चयन भएपछि बागमतीमा पनि प्रतिस्पर्धा हुने बुझेका ओलीले ‘प्रतिष्पर्धा गरौं, तर प्यानल बनाइएको थाहा भयो भने प्यानल नै खारेज हुनेछ भन्ने अभिव्यक्ति दिएका हुन् । प्रदेश अधिवेशनको उद्घाटन सभा गृहमा भएकोमा बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा भएको थियो । मतदान कार्यक्रम भोलि पार्टी कार्यालय च्यासलमा हुने बताइएको छ ।

‘नेतृत्वमा सकेसम्म सर्वसम्मत गर्ने प्रयास गरियो, अन्ततः सफल नभएपछि उम्मेदवारी दर्ता गरिएको छ, अब लोकतान्त्रिक प्रक्रिया अगाडि बढ्छ’, अध्यक्ष मण्डलका सदस्य अरुण नेपालले भने । सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष मण्डलका अध्यक्ष रहेका गुरु बराल आफैं लागिपरेका थिए । उनले बुधबार बिहानैबाट अध्यक्षका आकांक्षीहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा प्रदेश अध्यक्षका आकांक्षीहरु कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, केशवराज पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकी सहभागी थिए । तर छलफलमा कसैले पनि अडान छाडेनन् ।

आकांक्षी नेताहरु अडानमै रहेपछि मतदानको प्रक्रिया अगाडि बढाइएको हो । तर मतदानकै प्रक्रियामा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास हुने नेताहरुले बताएका छन् । सर्वसम्मत गर्नकै लागि मतदानको समय बिहीबार बिहान ११ बजे तोकिएको छ । ‘मतदानको प्रक्रिया अगाडि बढिरहन्छ, तर सर्वसम्मत नेतृत्व चयन गर्न अनौपचारिक संवाद पनि सँगसँगै अगाडि बढाउँछौं’, अध्यक्ष मण्डलमा रहेका एक नेताले भने । उनका अनुसार, अध्यक्षका आकांक्षीहरुबीच एकपटक छलफल भएपनि अनौपचारिक संवाद निरन्तर भइरहेको छ । पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी चयन हुने यो अधिवेशनमा एक हजार १७४ प्रतिनिधि सहभागी छन् ।


Author

थप समाचार
x