बागमती

सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू

इकागज |
असोज ३०, २०८० मंगलबार १४:७ बजे

मकवानपुर - चाड पर्वमा हुने भीडभाड र यातायातामा सुरक्षामाथि सुरक्षित हुनको लागि  जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू गरेको छ ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चाड पर्वलक्षित गरी मंगलबारबाट टाइम कार्ड लागू गरेको ट्राफिक प्रहरीले जारी गरेको सूचनामा जनाइएको हो । 


पार्सा जिल्लाको सिमाना कटेर हेटौ‌डा उपमहानगरपालिका १५ चुरियामाईबाट हेटौंडा बसपार्क, मनहरी हुँदै चितवन जाने सार्वजनिक यात्रुवाहक सवारी साधनहरुमा अनिवार्य रुपमा टाइम कार्ड लागू भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यात्रु पाइने होडमा छिटोछिटो सवारी गुडाउँदा दुर्घटना हुने संभावनालाई कम गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा टाइम कार्ड लागू गरिएको हो । सो रुटमा चल्ने यात्रुवाहक सवारी साधनलहरुले अनिवार्य टाइम कार्ड लिनुपर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

टाइम कार्ड नलिई सवारी चलाएमा यातायात व्यवस्था ऐन, नियमबमोजिम कारवाही हुनेसमेत प्रहरीले जनाएको छ । मकवानपुरबाट काठमाण्डौ जाने सुमोहरुमा भने यस अघि नै टाइम कार्ड लागु भइसकेको छ । तोकिएको स्थानबाट तोकिएको स्थानमा तोकिएभन्दा चाँडो पुगेका नियम अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x