बागमती

काठमाडौँ महानगरले उठायो एक अर्ब कर

इकागज |
कात्तिक १४, २०८० मंगलबार २१:५ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले बितेका दुई महिनामा एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिमा कामपाले ९३ करोड ४१ लाख मात्र राजस्व संकलन गरेको थियो ।

राजस्व संकलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय काठमाडौँ महानगरपालिकाको लामो समयदेखिको बक्यौता रकम उठ्न थालेको छ । कामपाले ३२ वटै वडा कार्यलयबाट राजस्व संकलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्नुको साथै करदाता सङ्ख्या बढेको बताइएको छ ।


त्यस्तै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम जरिवानाको कारण तिर्न आनाकानी गरिरहेका करदाताहरुको लागि आगामी पुस मसान्तसम्म जरिवाना रकममा छुट दिएकाले राजस्व संकलनमा सहज भएको छ । 

यसअघि राजस्व तिर्नका लागि वार्षिक तीन लाखसम्म  सम्बन्धित वडा कार्यालय र त्यसभन्दा बढी रकम तिर्न कामपाको केन्द्रमा आउनुपर्ने व्यवस्था रहेको  राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले बताए । 

प्रत्येक वडा कार्यलयबाट राजस्व संकलनको व्यवस्थासँगै वडा सदस्य र कर्मचारीको नेतृत्वमा सचेतना कार्यक्रम सञ्चालन गर्दा राजस्व संकलनमा थप सहजता भएको प्रमुख काफ्लेले जानकारी दिए । 

हाल कामपामा सम्पत्ति कर र बहाल कर बुझाउने करदाताको सङ्ख्या उल्लेख्य बढेको कामपाको भनाइ छ । कामपामा करिब चार लाख करदाता रहेका छन् ।  कामपाले सम्पत्ति कर, बहाल कर, मनोरञ्जन कर, व्यवसाय, विज्ञापन कर गरी मुख्य नौ शीर्षकमा कर संकलन गर्दै आएको छ । 

चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको राजस्व विभागका प्रमुख काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा २४ करोड बढी राजस्व असुल भएको छ । चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड राजस्व असुल भएको छ ।

गत वर्षभन्दा यसवर्ष सम्पत्ति करमा मात्रै ६ सय ४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता बढेका छन् । पछिल्लो समय मात्रै एक हजार तीन सय करदाता थपिएका छन् । कामपाले बक्यौता रकम असुल गर्न छुट दिएको छ । रासस


Author

थप समाचार
x