बागमती

बागमतीका ५६ प्रतिशत कृषक परिवारलाई कृषि आम्दानीले खान नपुग्ने

इकागज |
कात्तिक २२, २०८० बुधबार १९:३७ बजे

फाइल फोटो

मकवानपुर - बागमती प्रदेशमा कृषि क्षेत्रबाट उत्पादन गरेको सबै वस्तु ६६ दशमलव ४ प्रतिशत कृषकले घरायसी उपभोगमा खर्च गर्ने गरेका छन् । कृषि पेशाबाट प्राप्त हुने केही कृषि उपज बिक्री गर्ने २५ प्रतिशत रहेको एक तथ्यांकले देखाएको छ । यस्तै केही घरायसी प्रयोजनको लागि राख्ने बाँकी सबै बिक्री गर्ने ७ दशमलव ४ प्रतिशत रहेका छन् भने कृषिबाट उत्पादिन सबै वस्तु बिक्री गर्ने शून्य दशमलव ९ प्रतिशत रहेका छन् ।

हेटौडामा राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा बागमती प्रदेशमा करिब ५६ प्रतिशत परिवार कृषि आम्दानीले खान नपुग्ने रहेका छन् । तथ्यांक अनुसार प्रदेशमा कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान नपुग्ने परिवार ५५ दशमलव ९ प्रतिशत रहेको देखिन्छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले प्रदेशमा कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान पुग्ने परिवार भने ४४ दशमलव १ प्रतिशतमात्र रहेको देखाएको छ ।


कृषि गणना, २०७८ को प्रतिवेदनमा उल्लेखित तथ्यांक समेटिएको छ । नेपाल राज्यभर भने कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रीकुमार कार्की बताउँछन । बागमतीमा ७२ दशमलव ६ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेको छ ।

तथ्यांक अनुसार कृषिमा पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्याक्टर र पाओरट्रिलर प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ । तर पनि कृषि पेशालाई प्रमुख पेशको रुपमा अपनाउन नसकेको तथा झारा टराइ खेती लगाउने प्रचलन बढेकोले कृषि पेशमा आश्रीत परिवार घट्दै गएको देखिन्छ ।

यसैगरी बागमतीमा १४ दशमलव ८ प्रतिशत फलामे हलो, ३० दशमलव ८ प्रतिशत ट्रयाक्टर र १६ दशमलव ७ प्रतिशत पाओरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले जानकारी दिए । तीन दशकमा नेपालमा कृषक परिवार संख्या र कृषकले भोगचलन गरेको जग्गामा वृद्धि भएको तथ्यांकले देखाएको छ । तर बाली सघनता भने घटेको छ । वर्षमा २ पटक भन्दा बढी बाली लगाउन सकिने अवस्थमामा दोहोर्याएर बाली लगाउने चलन प्रायः हराउन थालेकोले वर्षमा बढीमा बाली २ पटक मात्रै लगाएको देखिन्छ । बागमती प्रदेशमा १५ लाख ७० हजार घरपरिवार संख्या रहेकोमा ६ लाख ६८ हजार १ सय ७७ कृषक परिवार रहेको निर्देशक कार्कीले बताए ।

उनका अनुसार प्रदेशमा २ लाख ८२ हजार २ सय ९२ हेक्टर जमिन कृषि चलनमा प्रयोग भएको छ । नेपालमा सरदर १ दशमलव ९१ प्रतिशत बाली सघनता रहेता पनि प्रदेशमा भने २ पटकसम्म बाली लगाएको पाइएको कार्की बताउँछन् । प्रदेशमा बगैँचाको रुपमा आँप ५ सय ३२ हेक्टरमा, केरा १ हजार १ सय २० हेक्टरमा, सुन्तला ६ सय ८८ हेक्टरमा, कागती ४ सय ६० हेक्टरमा, स्याउ ८० हेक्टरमा लगाइएको उनले बताए ।

त्यस्तै, प्रदेशमा गाईगोरुको पालन घट्दो छ । २०६८ को गणना अनुरुप घट्दै गइरहेको देखिन्छ । गाईगोरु र राँगाभैसी भन्दा खसीबाख्रा र संगुरबंगुरको संख्या भने धेरै वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।  नेपालमा पछिल्लो समय कृषकमा महिलाको संख्या भने बढ्दो क्रममा रहेको छ । विगत तीन दशक देखिको तथ्यांकले समेत महिला कृषकको संख्यामा वृद्धि भएको निर्देशक कार्कीले जानकारी दिए ।

नेपालमा ३२ दशमलव ४ प्रतिशत महिला कृषकको रुपमा रहेका छन् भने बागमती प्रदेशमा मुख्य कृषकको रुपमा महिला ३७ दशमलव २ प्रतिशत र पुरुष ६५ दशमलव ८ प्रतिशत रहेका छन् । २०५८ को गणनामा महिला ८ दशमलव १ प्रतिशत र पुरुष ९१ दशमलव ९ प्रतिशत कृषक थिए । युवा जनशक्ति पुरुष पढ्न तथा कामको शीलशीलामा विदेसिएकाले समेत कृषीमा महिलाको सहभागिता बढ्दै गएको अनुमान गरिएको छ ।

यसैगरी बागमतीमा ४८ प्रतिशत कृषकले सिँचाईको व्यवस्था, २७ प्रतिशतले कृषि कार्यको लागि तालिमको व्यवस्था, २७ प्रतिशतले कृषि प्राविधिक सेवा सहज, २२ प्रतिशतले कृषि औजार एवं आधुनिक साधन, १८ प्रतिशतले उन्नत नश्ल र उन्नत वीउबीजन, १२ प्रतिशतले कृषि उत्पादनको उचित बजार व्यवस्था र ११ प्रतिशत कृषकले शुन्य ब्याजदर वा सस्तोमा ऋण उपलब्ध गराउन सुझाव दिएको बताइएको छ ।


Author

थप समाचार
x