बागमती

मानव सेवा आश्रमलाई अभिभावकत्व प्रदान गर्छ : प्रधानमन्त्री प्रचण्ड

इकागज |
मंसिर ३०, २०८० शनिबार १२:४१ बजे

तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

हेटौँडा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उनले आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको बताए ।

प्रधानमन्त्री प्रचण्डले आश्रमबाट भएका कामलाई विस्तार गर्न सबै प्रदेशमा भवन निर्माण तथा उद्धारलगायतका कामका लागि प्रक्रिया अगाडि बढाएको बताए । उनले मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति रु १० हजार नगद उपलब्ध गराउने जानकारी दिए । आश्रमले मानवता प्रवर्द्धनको पुण्य अभियानका लागि काम गरिरहेकाले आफू उपस्थित भएको बताए ।


त्यस अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले आश्रम व्यवस्थापनका लागि बजेट विनियोजन गरेको बताए ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले राज्यको सहभागितामा आश्रममार्फत सडक मानवमुक्त प्रदेश बनाउने अभियान सुरु गरिएको बताइन् । सरकारले आश्रमलाई ध्यान दिँदा वृद्धवृद्धाको हेरचाह गर्न सहज हुने उनको भनाइ थियो । मन्त्री मोक्तानले आश्रममा जन्म लिएका बालबालिकाको नागरिकताको विषय जटिल बनेको जनाउँदै यसको समाधानमा संघ सरकारको सहयोग आवश्यक पर्ने उल्लेख गरिन् । यस विषयमा प्रदेश सरकारले समन्वयको प्रयास गरिरहेको उनको भनाइ थियो ।

बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँले मानवसेवा आश्रमको माध्यमले हेटौँडाबाट मानवतावादी सन्देश फैलने बताए । सबै मिलेर सडक मावनमुक्त राज्य निर्माणमा लाग्नुपर्नेमा उनले जोड दिए ।

हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडाको पहिचानका रुपमा आश्रमले मानवताको प्रवर्द्धन गरिरहेको बताए । उनले पालिकाले आश्रमलाई निरन्तर सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।

मानवसेवा आश्रमको सो भवन रु १३ करोड ८१ लाख ६६ हजार पाँच सय ८० लागतमा निर्माण भएको हो । आश्रमले हालसम्म नौ हजार ७९ जनाको उद्धार गरेकामा हाल १८ जना बालक तीन जना बालिकासहित दुई सय चारजना आश्रित छन् । सडकमा रहेका मानवलाई उद्धार गरी पालनपोषण गर्ने तथा परिवारसँग पुन:र्मिलन गराउने उद्देश्यले संस्थाको स्थापना भएको हो । रासस


Author

थप समाचार
x