लुम्बिनी

एमाले लुम्बिनी प्रदेशका अध्यक्षमा पौडेल समूहका कँडेल विजयी

इकागज |
भदौ २०, २०८० बुधबार ७:३ बजे

बुटवल- नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । मंगलवार नेतृत्वका लागि भएको निर्वाचनको बुधवार बिहान भएको मतगणनामा अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका हुन् ।

मतगणनाको सुरुवातदेखि नै अगाडि रहेका अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् । विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका छन्। पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए । पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ ।


यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको हो ।त्यस्तै गरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भएका छन् ।

उनीसँगै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पूजन विश्वकर्माले ९८, रुकुमका शान्त कुमार वलीले ५६ मत ल्याएका थिए । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भएका छन् । उनीसँग दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याएका थिए ।

महिला उपसचिवमा लीला रानामगर ३५२ मत ल्याएर विजयी भएकी छन् । उनीसँग बसन्ती अधिकारीले ३५१ र आरती पौडेलले २२१ मत ल्याएका थिए ।यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् ।

उनले प्रतिस्पर्धी विष्णुराज बीसीलाई २०७ मत अन्तरले पराजित गरेका हुन् । मङ्गलवार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो ।

विजयी उम्मेदवारहरुलाई बुधवार बिहान ९ बजे नै शपथग्रहणको कार्यक्रम राखिएको निर्वाचन मण्डलका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिएका छन् । पदाधिकारीमा निर्वाचित उपसचिव पूर्णबहादुर बूढाबाहेक सबै कँडेल समूहका हुन् । यो नेतृत्व छनौटका लागि पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल समूहले कँडेल र महासचिव शंकर पोखरेल समूहले रिजाललाई साथ दिएर प्यानलगत उम्मेदवारी दिएर चुनावी मैदानमा गएका थिए ।

 


Author

थप समाचार
x