लुम्बिनी

संघीयताप्रतिको जनताको निराशा हटाउने गरी काम गर्नुपर्छ : मुख्यमन्त्री चौधरी

इकागज |
असोज २५, २०८० बिहीबार १५:११ बजे

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयताप्रतिको जनताको निराशा हटाउने गरि सरकारले काम गर्नु पर्ने बताएका छन् । उनले तीनै तहका सरकारले पूर्ण अधिकार प्रयोग गरी जनताप्रतिको विश्वास बढाउनु पर्ने र संघीयताप्रति बढेको निराशा कम गराई संघीयता र संविधानप्रतिको विश्वास बढाउनु पर्ने बताए ।

'अधिकार सबैले प्रयोग गरौँ, जनताको विश्वास हराउन दिनु हुँदैन,' उनले भने, 'संघीयतामा विकास, नेतृत्वमा प्रतिस्पर्धा गरौँ र जनताको पहुँच बढाउ । तर, आलोचना र  चुनौतीमा मात्रै अलमल नगरौँ ।'


बिहीबार लुम्बिनीमा भएको संघीयता कार्यान्वयनमा योजना तर्जुमा र विकास व्यवस्थापनसम्बन्धी अन्तर प्रदेश अनुभव आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएका हुन् ।

उनले संघीयता र संविधान कार्यान्वयनको चुनौती रहेको भन्दै यसको औचित्य पुष्टि गर्नु पर्ने बताए । मुख्यमन्त्रीले संघीयता फेल भयो भने संविधान पनि फेल हुने हुँदा यो चुनौती सबै मिलेर सामना गर्नु पर्ने भनाइ राखे ।

योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनीका पूर्व मुख्यमन्त्री लिला गिरीले संघीयता कार्यान्वयनका लागि सबैले नियत सफा राखेर काम गर्नु बताए । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु यादवले केन्द्रले संघीयताप्रति राख्ने दृष्टिकोण फरक रहेको बताए ।

कार्यक्रममा नीति निर्माण गर्दा र योजना निर्माणमा साझा सवाल जोड्न र अनुभव आदान प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष डा नहकुल केसीले बताए । लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्यालले संघीयताको मर्म सहकार्य, समन्वय र सह अस्तित्व कायम गर्ने रहेको बताइन् । 

कार्यक्रममा सातै प्रदेशका  योजना आयोगका उपाध्यक्ष, सदस्य लगायतको सहभागिता रहेको छ ।


Author

थप समाचार
x