लुम्बिनी

लुम्बिनीमा ओली पक्ष विस्तारमा, दाहाल-नेपाल आन्दोलनमा

कतै सहमतिमा बैठक, कतै तालाबन्दी

बिक्रम खड्का |
पुस १३, २०७७ सोमबार १४:२४ बजे

बुटवल : स्पष्ट रुपमा दुई समूहमा विभाजित नेकपाको विवाद केन्द्रदेखि गाउँसम्म पुगेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा  दुवै पक्षले औपचारिक तथा अनौपचारिक भेलाहरू गरेका छन् । पार्टीको आधिकारिकता कसले पाउने भन्‍ने अन्ययोल रहेका बेला कतिपय कार्यकर्ता पर्ख र हेरको अवस्थामा छन् । 

तर, पार्टी कार्यालयहरू आफ्नो पक्षमा पर्ने दाउमा जिल्लाका नेता कार्यकर्ताहरू लागिरहेका छन् । दाहाल–नेपाल पक्षले आइतबार सबै जिल्लामा भेला गरेको छ । अधिकाशं जिल्लामा केन्द्रीय नेताहरू नै पुगेर सम्बोधन गरेका छन् । सोही दिनमै ओली पक्षले पनि कतिपय जिल्लामा औपचारिक त कतिपय जिल्लामा अनौपचारिक भेला गरेको छ । 


लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रोल्पा, नवलपरासी पश्चिम र प्युठान बाहेकका ९ जिल्लामा अगुवा कार्यकर्ता भेला गरिएको दाहाल–नेपाल पक्षका नेताहरूले बताएका छन् । सो पक्षको कार्यक्रम अनुसार रुपन्देहीको भेलालाई घनश्याम भुसाल, पूर्वसभामुख ओनसरी धर्ती, डा. विजय पौडेल, हकिकुल्ला खाँ, दधिराम न्यौपानेसहितका नेताहरूले सम्बोधन गरे । 

कपिलवस्तुमा चक्रपाणि खनाल, गिरिधारीलाल न्यौपाने, विष्णु पन्थीलगायतले सम्बोधन गरे । त्यसैगरी दाङमा युवराज ज्ञवाली, मेटमणि चौधरी तथा बाँकेमा योगेश भट्टराई, महेश्वर गहतराजलगायतले सम्बोधन गरेको सो समूहका नेतृ ओनसरी धर्तीले बताइन् । 

बर्दियामा प्रदेश सांसद हिमाल शर्मा, सन्तकुमार थारु, गुल्मीमा सुदर्शन बराल, दिनेश पन्थीलगायत सम्बोधन गरेका छन् । पाल्पाको भेलालाई नेता सोमप्रसाद पाण्डे, ठाकुर गैरे, तुलामाराम घर्तीले सम्बोधन गरे भने अर्घाखाँचीको भेलालाई रामकुमारी झाँक्री, डिलाराम आचार्य र सुशीला श्रीपालीले तथा रुकुम पूर्वमा गणेशमान पुनले सम्बोधन गरेका थिए । रोल्पा, नवलपरासी पश्चिम र प्युठानको जिल्ला भेला सोमबार हुँदैछ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा ७ वटा जिल्लामा दाहाल–नेपाल पक्षका अध्यक्ष छन् भने ५ जिल्ला अध्यक्षहरू ओली पक्षमा लागेका छन् । 

सहमतिमा आलोपालो बैठक 

दाङमामा दुवै पक्षले पार्टी कार्यालयमै  जिल्ला भेला गरेका छन् । सल्लाह गरेर दुवै समूहले आलोपालो बैठक गरेका हुन् । आइतबार बिहान ओली समूहले जिल्ला पार्टी कार्यालय घोराहीमा आफ्नो समूहको बैठक गरेको थियो । जिल्ला कार्यालय सदस्य हुकुमबहादुर बस्नेतको अध्यक्षतामा बैठक बसेको थियो । बिहान ९ बजेदेखि सुरू भएको बैठक बिहान ११ बजे सकिएको थियो। 

त्यसपछि मध्यान्ह १२ बजेपछि सोही पार्टी कार्यालयमा नेकपा दाहाल–नेपाल समूहको बैठक सुरू भएको थियो । नेकपा दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा बैठक बसेको थियो । जारी बैठकमा नेकपाका प्रदेश सचिव जगप्रसाद शर्मा, जिल्ला इञ्चार्ज  जीवन गौतम, सचिव तुल्सीराम पुनलगायतका सहभागी थिए । दुवै समूहको बैठक एकैदिन हुने जानकारी आएपछि जिल्ला पार्टी कार्यालयमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । 

प्युठानमा ओली पक्षको ताला 

नेकपा प्यूठानको पार्टी कार्यालयमा ओली पक्षले तालाबन्दी गरेको छ । विजुवार खेलकुद मैदान नजिकै रहेको पार्टी कार्यालयमा ओली निकटका राष्ट्रिय यूवा संघ प्यूठानका नेताहरूले ताल्चा लगाएका हुन् । 

पूर्वएमालेको जिल्ला कमिटीले निर्माण गरेको पार्टी कार्यालयसँग आफूहरूको पौरख जोडिएकाले अरुको हातमा नदिने नेताहरूले बताएका छन् । यूवा संघका केन्द्रीय सदस्य एवं प्यूठान इन्चार्ज विनोद ओलीको नेतृत्वमा पुगेको टोलीले प्यूठानमा रहेको पार्टी कार्यालयसँग आफूहरूको पौरख गाँसिएको सुनाए । अर्को पक्षले ताला फोर्न सक्ने भन्दै पार्टी कार्यालय परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

लुम्बिनी प्रदेश सभामा माधव पक्षका सांसद मौन

वाग्मती र प्रदेश १ मा प्रदेश सरकारविरुध्द अविश्वासको प्रस्ताव दर्ता भैसके पनि लुम्बिनी प्रदेसमा कुनै तयारी देखिएको छैन । खासगरी पूर्वएमालेतर्फका माधवकुमार नेपाल पक्षीय प्रदेश सभा सदस्यहरू मौन बसेपछि दाहाल–नेपाल पक्ष रोकिएको छ । 

आइतबारको भेलामा ओली पक्षका केन्द्रीय नेताहरूले धम्काएका कारण आफ्नो पक्षका प्रदेश सभा सदस्य खुल्न नसकेको साे समूहका नेताहरू बताउँछन् । दाहाल–नेपाल पक्षका जिल्ला नेता सिद्धिचरण भट्टराईले रुपन्देहीका आफ्नो पक्षका प्रदेश सभा सदस्यहरूलाई धम्की दिएका कारण खुल्न नसकेको बताए । 

उनले जिल्लाबाटै नेतृत्व गर्ने ओली पक्षका केन्द्रीय नेताले अनेक खालका प्रलोभन र धम्की दिएका कारण उनीहरू खुल्न डराएको दावी गरे ।  लुम्बिनी प्रदेशमा पूर्वएमालेका ४० जना प्रदेश सभा सदस्यहरू मध्ये एक जना मात्र दाहाल–नेपाल समुहमा खुलेर लागेका छन् । 

त्यसवाहेक अन्य प्रदेश सभा सदस्यहरू मौन देखिएका छन् । उनीहरू मध्ये कतिपय ओली समुहको केन्द्रीय सदस्यमा परेका छन् भने कतिपयले केन्द्रीय सदस्य त्याग गरे पनि खुलेर समूहमा लागेका छैन । 

लुम्बिनी प्रदेशमा बहुमत पुर्‍याउन ४४ जना प्रदेश सदस्य आवश्यक पर्ने देखिन्छ । ओली पक्ष बलियो देखिएपछि अविश्वासको प्रस्तावका विषयमा कुनै पनि पक्षले खुलेर छलफल चलाएको देखिएको छैन । 

ओली पक्ष विस्तारमा, दाहाल–नेपाल आन्दोलनमा 

लुम्बिनी प्रदेशका विभिन्‍न जिल्लाको अवस्था हेर्दा ओली पक्ष जिल्ला कार्य समिति विस्तारको अवस्थामा देखिएको छ । केन्द्रीय समितिमा जस्तै जिल्लामा जिल्लामा पनि कार्य समिति आफ्नो पक्षको बहुमत पुग्नेगरी विस्तारको रणनिति अख्तियार गरेको छ । आइतबार मात्र कपिलवस्तु दाङलगायतका जिल्लामा बसेको जिल्ला भेलाबाट कार्य समिति थप गर्ने निर्णय गरेको छ ।  सो समूहले इतरसमूहलाई कारवाही नगरी आफ्नो पक्षमा सदस्य थप गर्ने रणनिति बनाएको देखिन्छ । 

उता दाहाल–नेपाल पक्षले भने अबको सबै ध्यान आन्दोलनमा केन्द्रित गर्नु पर्नेमा जोड दिएको छ । ९ जिल्लामा भएका जिल्ला भेलामा अधिकांश केन्द्रीय नेताहरूले आन्दोलनबाट संसद पुनर्स्थापना गरेरअघि बढ्ने बताए । 

उनीहरूले कठोर खालको आन्दोलनका लागि पनि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनीहरूले आवश्यक परे राजधानी काठमाडौंसम्म आन्दोलनका लागि उत्रिनु पर्ने आँकलन गरेका छन् । एक अर्कालाई आरोप प्रत्यारोपमा उत्रिएको दुवै समुह केन्द्रीय सर्कुलर अनुसार अघि बढेको देखिएको छ । 

याे पनि 

नेकपा विवाद : लुम्बिनीमा कुन समूह बलियो ? नेताहरूको समूहगत (नामावलीसहित)

 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x