लुम्बिनी

नेकपा (दाहाल–नेपाल समूह) लुम्बिनी प्रदेशले संघर्षलाई तीब्रता दिने

ठाकुर गैरेको संयोजकत्वमा समिति गठन

बिक्रम खड्का |
पुस १७, २०७७ शुक्रबार १२:५४ बजे

रुपन्देहीमा आयोजित दाहाल–नेपाल पक्षको प्रदेश स्तरीय बैैठकमा सहभागी नेताहरू

बुटवल : नेकपा (दाहाल–नेपाल) लुम्बिनी प्रदेश कमिटीको बैठकले संघर्षका कार्यक्रमलाई तीब्र पार्ने निर्णय गरेको छ । समूहकोे प्रदेश कमिटी बैठकले प्रतिनिधिसभा विघटनविरुध्द प्रदेशभरी आन्दोलन तीबै पार्ने निणर्य गरेको हो । पार्टीका नेताहरू युवराज ज्ञवाली, वर्षमान पुन, घनश्याम भुसाललगायत उपस्थित बैठकले प्रदेशमा संघर्षका कार्यक्रमहरू व्यवस्थित रूपमा अघि बढाउने निर्णय गरेको छ ।

बैैठकले पार्टीका केन्द्रीय सदस्य ठाकुर गैरेको संयोजकत्वमा संघर्ष समिति समेत बनाएको छ । समितिले आन्दोलनका कार्यक्रमहरू तयार गर्ने र प्रदेशका १२ वटै जिल्लामा समन्वय गर्नेे छ । प्रदेश कमिटी सचिव जगप्रसाद शर्माका अनुसार बैठकमा पार्टीका नेताहरू ज्ञवाली, पुन, भुसाल तथा प्रदेश कमिटीका सह–इन्चार्ज कुलप्रसाद केसीले सम्बोेधन गरेका थिए । 


राष्ट्रपति र प्रधानमन्त्रीको सेटिङमा निरंकुशताको अभ्यासः

स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले मुलुकमा निरंकुशता लाद्ने प्रयास गरिरहेको बताएका छन् ।  ओलीले राज्य शक्तिको दुरुपयोग गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभाग आफू मातहत राखेको चर्चा गरे ।

संविधानमा स्पष्ट रूपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पूँजीपति रहेको उनको भनाइ थियो ।  नेता पुनले नेपालको सम्पूर्ण अर्थ व्यवस्था व्यक्तिको मुठ्ठीमा पार्ने गरी ओली अगाडि बढेको दाबी गरे ।  तर, असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी उनले दिए ।

‘ओलीले निरंकुश सत्ता चलाउने मनसायले असंवैधानिक बाटो हिड्नुभएको छ’, नेकपा पुनले भने, ‘राजामहाराजाको निरंशुकता नटिकेको नेपालमा ओली निरंशुकता धेरै दिन टिक्न दिँदैनौं ।’  नेता पुनले ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले सहयोगी भूमिका खेलेर संविधानको संरक्षक र राष्ट्राध्यक्षको भूमिकाबाट च्युत भएको टिप्पणी गरे । 

‘मन्त्रीहरूको असहमति र आपत्तिबीच प्रतिनिधिसभा विघटनको सिफारिस गरियो’, उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको सेटिङमा प्रतिनिधिसभा विघटन भएको अब घामजत्तिकै छर्लङ्ग भएको  छ ।’  फरक प्रसंगमा पुनले केन्द्रीय समितिको झण्डै दुई तिहाइ र संसदीय दलमा बहुमत रहेकाले पार्टीको नाम नेकपा र चुनाव चिन्ह आफूहरूले पाउने विश्वास व्यक्त गरे । 

प्रदेश सरकारका विषयमा ‘पर्ख र हेर’ 
दाहाल–नेपाल पक्षका सांसदहरूको संख्या सरकार ढाल्नका लागि प्रयाप्त नभएपछि अहिले पर्ख र हेरको नीति अख्तियार गरेको देखिएको छ । सो समूहका सांसदहरू अझै पूर्ण रूपमा नखुलेका कारण तत्काल अविस्वास प्रस्तावमा पेश नहुने देखिएको छ ।

पूर्वएमाले पक्षका प्रदेश सभा सदस्यहरू नखुलेपछि सो समूह अफ्ठ्यारोमा परेको हो । सरकारमा ओली पक्षका मुख्यमन्त्री शंकर पोख्रेलसहित ४ जना  र पूर्वमाओवादी केन्द्रका २ जना मन्त्री छन् । मन्त्रीहरू दिनभरि एक अर्को पक्षको आलोचना गर्ने तर एउटै मन्त्रिमण्डलमा संगै रहेको भन्दै कतिपयले राजीनामा दिनु पर्ने तर्क राखेका छन् ।  प्रदेशमा ८७ सांसद मध्ये बहुमतका लागि ४४ जना आवश्यक हुन्छ ।

अहिले ओली पक्षमा ४१ जना सदस्यहरू रहेका छन् । दाहाल–नेपाल पक्षले साथ छोडेमा राष्ट्रिय जननमोर्र्चा, जनता समाजवादीलगायत मिलाएर सरकार चलाउने दाउमा ओली पक्ष देखिएको छ । त्यसमाथि दाहाल–नेपाल पक्षका प्रभावशाली मानिएका माधव शर्मा ले नै सो समूह परित्याग गरेको चार्चा सुरु भएको छ । शर्मा आन्दोलनका कार्यक्रमहरूमा देखिएका छैनन् ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x