लुम्बिनी

रुपन्देहीमा पालिकामार्फत संक्रमितको शव व्यवस्थापन

बिक्रम खड्का |
कात्तिक ६, २०७७ बिहीबार ७:१३ बजे

रुपन्देही : कोभिड-१९ संक्रमितको उपचारदेखि शव व्यवस्थापनमा समेत सरकारले हात झिकेपछि स्थानीय पालिकाहरुले भने सक्रियता देखाएका छन् । संघीय सरकारको निर्णयसँगै नागरिकहरुमा निरासा छाइरहेको बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने आफ्नो जिम्मेवारी देखाएको छ ।

नगरपालिकाले बुधबार होम आईसोलेसनमै मृत्यु भएका एक जना संक्रमितको शव व्यवस्थान गरेको छ ।  सरकारले केहि दिन अघि मात्र होम आईसोलेनमा संक्रमितको मृत्यु भएमा शव व्यवस्थापन सरकारले नगर्ने बताएको थियो । जसका कारण दिनभर अलमलमा परेका आफन्तहरु नगरपालिकाका स्वास्थ्यकर्मचारीहरु शव व्यवस्थापनमा जुटेपछि राहतको महसुस गरेका थिए ।


यस अघि सरकारको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएकोमा तिलोत्तमा नगरपालिकाले  सघ सरकारको जे निर्णय भएपनि आफुहरु जिम्मेबारीवाट नभाग्ने भन्दै  शव व्यवस्थापन गरेको नगरपालिकाले जनाएको छ । बुधबार मृत्यु भएका कोरोना संक्रमित पुरुषको शव नगरपालिकाकै खर्चमा व्यवस्थापन गरिएको नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिए ।

तिलोत्तमा नगरपालिका वडा न ५ निवासी ४७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । लामो समयदेखि श्वासप्रश्वास, उच्च रक्तचापको समस्या रहेका उनी ७ दिनदेखि होम आइसोलेसनमै रहेका थिए । मृत्यु भएपछि शंकरनगर सामुदायिक वन क्षेत्रमा नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले शव व्यवस्थापन गरेको सिनियर अहेव अधिकृत गौतमले बताए ।

योसँगै तिलोत्तमामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।  हालसम्म तिलोत्तमाका ७२६ जनालाई कोरोना संक्रमण भएकोमा ३९३ जना निको भएका छन् भने ३२५ जना सक्रिय संक्रमित छन् । तिलोत्तमाले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरेको छ ।
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x