लुम्बिनी

लुम्बिनीमा मुख्यमन्त्रीले गरे खोप अभियानको सुरुवात

प्रादेशिक अस्पतालका डा. खनालले लगाए पहिलो खोप

बिक्रम खड्का |
माघ १४, २०७७ बुधबार १३:५९ बजे

बुटवल : केन्द्रीय कार्यक्रमअनुसार लुम्बिनी प्रदेशमा पनि कोभिड–१९ विरुद्धको खोप अभियानको सुरु गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रमा मुख्यमन्त्री शंकर पोखरेलले खोप अभियानको सुरुवात गरे । 

पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाए ।  अस्पतालका अरू १४ जनाभन्दा बढी स्वास्थ्यकर्मीले खोप लगाएका छन् । लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए ।  


त्यस मध्ये सबै भन्दा बढी रुपन्देहीको लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ । बाँकेको लागि १७ हजार ९० डोज उपलब्ध हुने छ । त्यसैगरी दाङमा ६ हजार ५ सय ९०, कपिलबस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोप पठाइने छ ।

त्यसै गरी नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुमपूर्वमा २ हजार ४०, गुल्मी ४ हजार १ सय ८०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० र रोल्पामा २ हजार ४ सय २० डोज कोरोना विरुद्धको खोप पठाउने तयारी गरिएको छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x