लुम्बिनी

रुपन्देही हत्या प्रकरण

सम्पत्तिको लोभमा आफन्‍तबाटै हत्या, २५ लाखमा भएको थियो ‘डिल’

सहोदर भाइ, काकालगायत ६ जना समातिए

बिक्रम खड्का |
माघ १४, २०७७ बुधबार १७:३७ बजे

बुटवल : रुपन्देहीको मर्चवारमा आगो लगाइ एक पुरुषको हत्या गरिएको घटनामा संलग्‍न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टीका ३४ वर्षीय राजेन्द्र यादवको हत्यामा संलग्‍न ८ जनामध्ये आरोपित ६ जनालाई प्रहरीले पक्राउ गरेको हाे। उनीहरू घटनाका योजनाकार र परिवारका सदस्य हुन् ।

मृतक यादवलाई उनकै भाइ, काका र काकाका सम्धीको समेत सम्लग्‍नतामा हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए । उनकाअनुसार सम्पत्तिका लागि यादवको हत्या भएको हो । 


एक साताअघि भएको घटनामा हत्याका आरोपितहरू सार्वजनिक गर्दै प्रहरीले मुख्य योजनाकार सियारी–२ बस्‍ने रामबेलाश यादव, बुद्धिराम कोहार, मृतकको भाइ विरेन्द्र यादव, काकाको सम्धी सन्तकुमार यादव, हत्याका सहयोगी सिद्धार्थनगर–११ का राकेश यादव र अफताव मुसलमानलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पोखरेलले बताए । 

अपराधमा संलग्‍न मध्यस्तकर्ता लङगारे भन्‍ने ईन्द्रजित यादव र सोनु मुराउ फरार छन् । मृतकका काकाले मान्छे मार्ने मध्यस्तकर्तालाई २५ लाख अथवा १ कठ्ठा जग्गा दिने शर्तमा हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको छ । घटना गराउने मुख्य योजनाकार बुद्धिराम कोहारले नगद २० हजार र ५० हजारगरी २ पटकमा ७० हजार मृतकको काकाबाट लगेको समेत खुलेको छ । 

यसरी भएको थियो घटना 
माघ ५ गते मृतक र उनका भाइ बिहानैदेखि मदिरा सेवन गरेर भारतको नौतनवासम्म पुगेका थिए । त्यसपछि सन्तकुमार र सोनु मुराउ मोटरसाइकलमै नौतनवा पुगी पुनः मदिरा सेवन गरेका थिए । 

सोनु मुराउले पाइप र निद्रा लाग्‍ने औषधि, लाइटर किनेर चारै जना नेपाल फर्केका थिए । नेपाल आएपछि जितेन्द्रको भट्टीमा पुनः मदिरा सेवन गर्ने बेला भाइले मदिरामा निद्रा लाग्‍ने औषधि मिसाएर खुवाएपछि उनी अर्धचेत भए । 

सोही स्थानमा अफताव र राकेशलाई सन्तकुमार यादवले मोटसाइकलसहित बोलाएर प्लाष्टिकको बोतलमा पेट्रोल निकालेर एउटा मोटसाइकलमा राकेश अफताव र विरेन्द्र तथा अर्को मोटरसाइकलमा सन्तकुमार राजेन्द्र र सोनु मुराउ घटनास्थलतर्फ लागेका थिए ।

बीच बाटोबाटै राकेश र अफताब आफ्नो गन्तव्यतर्फ लागे पनि बाँकी चार जना सन्तकुमार यादवको मोटरसाइकलमा घटनास्थल मायादेवी–७, गैरगट्टी आएका थिए । 
बेहोश रहेका राजेन्द्र यादवलाई मोटरसाइकलबाट झारी नौतनवामा किनेको हरियो पाइपले सन्त, सोनु र विरेन्द्र तीनै जना मिलेर घाँटी कसेर छातीमा खुट्टाले ५–७ मिनेट सम्म थिचेका थिए ।

मृत अवस्थामा रहेका राजेन्द्रलाई घटना स्थलदेखि एक कान्लामुनि घिसारेर लग्‍ने क्रममा मृतकको पाइन्ट र भित्री बस्त्र तल झरेकोले सो कपडालाई उस्कै छातीमा राखेर सोनु मुराउले पेट्रोल छरी लाइटरले आगो लगाएका थिए ।

मृतकले लगाएको घडी, बोकेको मोबाइल सोनु मुराउले लगेको केही समयपछि बाँकी तीनै जना घटनास्थलबाट एउटै मोटसाइकलमा चढी फर्केको प्रहरीले जनाएको छ ।

याे पनि 

मर्चवारमा आगो लगाएर युवाको हत्या


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x