लुम्बिनी

रोकिएन बालविवाह : तीन वर्षमा ४९ घटना

बिक्रम खड्का |
कात्तिक १४, २०७७ शुक्रबार १०:५२ बजे

बालविवाहविरुद्धको प्रहरी अभियानको उद्घाटनमा पोष्टरसहित सहभागी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी अधिकृतहरु । तस्बिर : इकागज

बुटवल : बुटवल १४ कार्तिक । सामाजिक रुपान्तरणको चर्को वकालत गरे पनि हामी कहाँ अझै बालविवाह रोकिएको छैन् । सरकारी तथा गैरसरकारकारी संघ संस्थाहरुले सचेतनाका नाममा ठुलोधनराशी खर्च गरे पनि लुम्बिनी प्रदेशमा बालविवाहका घटना सार्वजनिक भैरहेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङक अनुसार बालविवाह पहाडी जिल्लामै बढी देखिएको छ । प्रहरीले दिएको तथ्याङक अनुसार लुम्बिनी प्रदेशमा तीन वर्षको अवधिमा ४९ वटा बालविवाहका घटना भएका छन । ति मध्ये २७ वटा बालविवाह १६ देखि १८ वर्ष उमेर समुहले गरेका छन् । प्रहरी तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा वढि बालविवाहका घटना हुनेमा प्यूठान रहेको छ ।


जहाँ तीन वर्षमा १९ वटा बालविवाहका घटना भएका छन् । सार्वजनिक नभएका घटना त अझै कति छन् । दाङ दोस्रो स्थानमा रहेको छ । दाङमा १३ वटा बालविवाहका घटना भएको तथ्याङ्कले देखाएको छ । तीन वर्षको अवधिमै बाँकेमा ८, अर्घाखाँचीमा ३, गुल्मीमा २ र कपिलवस्तु, रुकुम पूर्वमा र रुपन्देहीमा १/१ वटा बालविवाह भएको प्रदेश प्रहरीको तथ्यांकमा छ । प्रहरीका अनुसार नवलपरासी पश्चिम, रोल्पा र पाल्पामा बालविवाहको घटना शून्य देखिएको प्रदेश प्रहरी प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए ।

प्रहरीमा दर्ता भएका घटनाका मात्र आफुहरुले सार्वजनिक गरेका उनको भनाई रहेको छ । यसरी बालविवाह गर्नेहरुको तथ्याङ्क अध्ययन गर्दा जातिय आधारमा सबै भन्दा बढी ब्राह्मण क्षेत्री रहेका छन् । सोहि समुदायका बालबालिकाहरु बढी पीडित भएको देखिन्छ । बालविवाहको तथ्याङक हेर्दा ब्राह्मण क्षेत्री समुदायका १६ वटा बालविवाहका घटना भएका छन् भने जनजातिका पनि १६ वटै बालविवाहका घटना दर्ता भएका छन् । दलित समुदायका ९ तथा मधेसी समुदायका ८ वटा बालविवाहका घटना भएका छन् । घटना अनुसन्धान गर्दा अघिकांश घटना आर्थिक लालचदेखि आफन्तको दवाबमा भएको देखिएको प्रहरीले बताइएको छ ।  मधेसका कतिपय समुदायमा बालविवाहको प्रचलन रहेको भनिएपनि उनिहरुका अधिकांश घटना ढाकछोप गर्ने गरिएको प्रहरीको अनुमान छ ।

बालविवाहविरुद्ध प्रहरीको अभियान
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बालविवाहविरुद्ध  १५ दिने सचेतना अभियानको थालनी गरेको छ । समाजमा बढ्दै गएको बालविवाह रोक्नका लागि प्रदेशका सबै जिल्ला र प्रहरी इकाइहरुमा त्यस्तो अभियान शुक्रबारदेखि सुरु गरिएको हो । स्थानीय सरकार तथा विभिन्न संघ-सस्थाको समन्वयमा प्रहरीले शुक्रबारदेखि कात्तिक २८ गतेसम्म सचेतनामुलक अभियान सञ्चालन गर्ने प्रदेश प्रहरी प्रवक्ता एसएसपी बैदवारले जानकारी दिए ।

प्रदेशका १२ वटै जिल्लामा कार्यक्रम सञ्चालन हुने अभियानमा मातहतका  जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले ५/५ वटा कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।त्यस्तै वडा प्रहरी कार्यालयबाट ३ वटा र प्रहरी चौकीमार्फत २ वटा कार्यक्रम सञ्चालन गरिने छन् । कार्यक्रम अन्तर्गत प्रहरी चेक पोष्टहरुमा सचेतनामूलक व्यानर, प्लेकार्ड बजार तथा प्रहरी कार्यालय अगाडी राख्ने, विभिन्न चेकिङ स्थानजमा सचेतनामूलक पोष्टर राख्ने, माइकिङ गर्ने, बजार क्षेत्रमा २/३ जनाको समूहमा अभियानबारे जानकारी गराउने लगाएका रहेको प्रदेश प्रहरीको भनाई छ । 
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x