सुदूरपश्चिम

मध्यराति सुदूरपश्चिम प्रदेशको बजेट पास

इकागज |
असार ३१, २०८० आइतबार १०:३९ बजे

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ लागि ल्याएको बजेट दुई तिहाई बहुमतले शनिबार राति पास भएको छ ।

आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले बजेट पासका लागि गरेको प्रस्तावका पक्षमा सत्ता साझेदार चार दलका ३९ जना प्रदेश सभा सदस्यले बजेटको पक्षमा मतदान गरे । विपक्षमा राप्रपाका एक जना प्रदेश सभा सदस्यले मतदान गरे । १० जना प्रदेश सभा सदस्य रहेको नेकपा एमाले र स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशी भने अनुपस्थित रहे ।


बजेटको पक्षमा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात र नेकपा एकीकृत समाजवादीका चार जना प्रदेश सभा सदस्यले मत दान गरे ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूर पश्चिममा प्रदेश सभामा बझाङबाट निर्बाचित पृथ्वी बहादुर सिंहको निधन भएपछि ५२ जना सदस्य छन् । बजेट पास गर्न २७ जना सदस्यको समर्थनको आवश्यकता पथ्र्यो । 

लामो रस्साकस्सी र बिरोधपछि अन्ततः सत्तारुढ दलहरुको समर्थन जुटाउन सरकार सफल भयो । सत्तारुढ दलहरुको बैठक शनिबार दिनभरी जारी रहेका कारण राति १० बजे बजेट पास भएको हो ।

असार १ गते प्रदेश सरकारले ल्याएको बजेटको बिरोधमा शुरुकै दिनदेखि उभिएका सत्तारुढ दलका प्रदेश सभा सदस्यहरुसंग सरकारको पटक पटकको छलफलपछिसहमती जुटेको हो ।

बजेट संशोधन नभए उनीहरु पास नगर्ने अडानमा थिए । सत्तारुढ दलका प्रदेश सभा सदस्यहरुका लागि प्रदेश सांसद बिकास कोषमा ३ करोड थप्न प्रदेश सरकार सहमत भएपछि बजेट पास गर्न उनीहरु सहमत भएका भएका हुन् । यसअघि दुई करोड रुपैया संसद विकास कोषका लागि बिनियोजन गरिएको थियो । अव उक्त कोष ५ करोड रुपैयाको हुनेछ ।

मुख्यमन्त्री तथा नेपाली काँग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहले काँग्रेसका प्रदेश सभाका सदस्यहरुको गुनासो र मागहरु सम्बोधन गर्ने प्रतिबद्धतापछि सम्पूर्ण प्रदेश सभा सदस्यहरु बजेट पास गर्न एक मत भएका थिए ।

बिहानैदेखि प्रदेश सभा हलको बाहिर रहेका एमालेका प्रदेश सभा सदस्यहरु साढे ६ बजेसम्म बैठक शुरु नभएपछि  हलबाट बाहिरिएका थिए । उनीहरु त्यसपछि फर्केनन । एमालेका सांसदहरु र स्वतन्त्र सांसद तारा जोशीले बैठक बहिस्कार गरे ।

प्रतिपक्षमा रहेको राप्रपाका एक जना सांसद बैठकमा सहभागी भएपछि बजेट पास भएको हो । अन्यथा प्रतिपक्षको उपस्थिति बिना भने बजेट पास हुने थिएन ।


Author

थप समाचार
x