सुदूरपश्चिम

तरकारी बोक्ने १६ ट्रकलाई एम्बुलेन्स बनाउँदा थन्कियो, खरिद प्रक्रियामा अनियमितता भएको ठहर

इकागज |
मंसिर १, २०८० शुक्रबार ८:७ बजे

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेको एम्बुलेन्स कामै नलाग्नेगरी थन्किएका छन् । प्रदेश सरकारले ६ करोड २५ लाख १२ हजारमा खरिद गरेका १६ वटा एम्बुलेन्स थन्किएका हुन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले आधुनिक र सुविधायुक्त दाबी गर्दै आएका एम्बुलेन्स चार वर्ष नपुग्दै सबै थन्किएका हुन् । 


मन्त्रालयले खरिद गरेका एम्बुलेन्स सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताललगायत अछामका चार, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङका दुई/दुई तथा बाजुरा र डोटीमा एक/एक गरी १६ वटा अस्पताल र स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

२०७६ साल कात्तिक २० गते हस्तान्तरण गरिएका ६ करोड २५ लाख १२ हजारमा मूल्यका १६ एउटा एम्बुलेन्स थन्किएका हुन् ।

मन्त्रालयले कमिसनको चक्करमा टाटा ४०७ मोडेलका मिनी ट्रक खरिद गरेकाले सबै बन्द भएका हुन् । सेती प्रादेशिक अस्पतालका प्रमुख डाक्टर शेरबहादुर कमरले प्रदेश सरकारले हस्तान्तरण गरेका एम्बुलेन्स प्रयोग गर्न उपयुक्त नरहेको बताएका छन् । उनले प्रदेश सरकारले दिएको एम्बुलेन्सलाई एम्बुलेन्स भन्न नमिल्ने बताउँदै एम्बुलेन्सको क्याटागोरीमा राख्न नमिल्ने रहेको बताए । 

एम्बुलेन्स खरिद प्रक्रियामा अनियमितता भएको ठहर
सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समिति अन्तर्गतको छानबिन उपसमितिले एम्बुलेन्स खरिदमा अनियमितता भएको ठहर गरेको प्रतिवेदन नै सार्वजनिक गरेको थियो । समितिले तयार पारेको प्रतिवेदनमा सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिद प्रक्रियाहरूमा गम्भीर त्रुटि गरेको उल्लेख छ ।

छानबिन उपसमितिको प्रतिवेदनमा उल्लेख भएअनुसार सम्झौता ६ करोड २५ लाख १२ हजारमा गरेर ६ करोड २६ लाख १३ हजार भुक्तानी दिएको, चार करोड ९८ लाख ९३ हजार पेस्की दिएको र फछ्यौट गर्दा १ दशमल ५ प्रतिशत र ६ दशमलव ५ प्रतिशत मुल्य अभिवृद्धि कट्टी गरेको नदेखिएको, १६ वटा एम्बुलेन्स खरिदमा प्रतिस्पर्धा नगराएको, टाटाका सवारी साधनलाई नियतवस जडान गरेर एम्बुलेन्स बनाएको, लागत अनुमान परिवर्तन गर्दा पुनः निर्णय नगरिएको भनिएको थियो ।
 


Author

थप समाचार
x