सुदूरपश्चिम

गड्‍डाचौकी नाकाबाट फर्काइए भारत जान हिँडेका नेपाली

नवराज पनेरु |
माघ १६, २०७७ शुक्रबार १८:२२ बजे

धनगढी : भारत जान लागेका नेपाली नागरिकलाई पश्‍चिमी सिमाना गड्‍डाचौकीबाट फर्काइएको छ । मन्त्रिपरिषद्‍को निर्णयले भारतसँग जोडिएका सीमा नाका खुला गरेको सूचना पाएर शुक्रबार अपरान्‍ह भारत जानका लागि गड्‍डाचौकी पुगेका नेपालीलाई सशस्त्र प्रहरीले सीमा नाकाबाटै फिर्ता पठाएको हो ।

उता भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले समेत मेडिकल टिम फर्किसकेको भन्दै नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाएको छ । कैलालीका ईन्द्र भुलले नाका खुलेको सूचना पाएर भारत जानका लागि गड्‍डाचौकी पुगेको तर नाकाबाट फिर्ता पठाइएको बताए ।


यता कञ्‍चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आन्तरिक तयारीका कारण शुक्रबारबाटै नाका खोल्न नसकिएको बताए । उनले आइतबारदेखि नाकामा आवागमन सहज हुने बताए । सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो । शुक्रबारदेखि कैलालीको गौरीफन्टा, कञ्‍चनपुरको गड्‍डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गर्ने निर्णय भएको थियो ।


Author

थप समाचार
x