सुदूरपश्चिम

‘मृत्यु स्तम्भ’ले भरिभराउ सुदूरका राजमार्ग

नवराज पनेरु |
माघ २०, २०७७ मंगलबार १४:५४ बजे

धनगढी : २०२६ सालमा सुदूरपश्चिमको पहाडी जिल्लाहरूलाई तराईसंग जोड्‍न धनगढी–डडेल्धुरा भीमदत्त राजमार्गको निर्माण सुरु भयो । त्यसअघि पहाडी सात जिल्लाबाट तराई पैदल हिडेरै आउनुपर्ने बाध्यता थियो । सडक बनेपछि पहाडी जिल्लाका वासिन्दालाई पनि सहज भयो । उनीहरू मोटर चढेर धनगढी, महेन्द्रनगर पुग्‍न थाले । 

मोटर चलेपछि सुरु भयो, दुर्घटनाको श्रृङखला पनि । भीमदत्त राजमार्गमै पर्ने बुडरका स्थानीय ईन्द्र ओलीका अनुसार उक्त राजमार्गमा पहिलो दुर्घटना २०३० सालमा भएको थियो । ६५ बर्षीय ओलीले सो समयको सम्झना गर्दै भने, ‘भीमदत्त राजमार्गमा सवारी गुड्न थालेका थिए । गोदावरीको तेस्रो मोडमा पहिलो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा तीन जनाले ज्यान गुमाएका थिए ।’ 


उक्त राजमार्गमा पहिलो मृत्यु स्तम्भ भने ०३३ सालमा बन्यो । डोजर चालक मैते पुनको भासु भीरमा दुर्घटनामा परी मृत्यु भएपछि उनको स्मृतिमा पहिलो मृत्यु स्तम्भ निर्माण गरिएको थियो । 

त्यसपछि ०४७ सालमा दुर्घटनामा परी मृत्यु भएका एकजना पिसकोर स्वयंमसेवकका आफन्तले स्तम्भ निर्माण गरेपछि मृत्यु स्तम्भ बनाउने क्रम बढेको हो । अहिले दुर्घटनामा ज्यान गुमाउने व्यक्तिका नाम  कुँदिएका स्तम्भले भीमदत्त राजमार्ग भरिभराउ भएको छ । 

तराईबाट सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाको प्रवेशद्वार कैलालीको गोदावरी पुल तरेर उकालो लाग्नेबित्तिकै सडक दुर्घटनामा ज्यान गुमाउनेहरूको स्मरणमा मृत्यु स्तम्भ बनाइएका छन् । सडक मर्मतमा खटिएका मजदुरहरूका अनुसार पुराना धेरै स्तम्भ त भत्किसकेका छन् । 

एक सय ३५ किलोमिटर राजमार्गको कैलालीमा पर्ने फल्टुडेसम्मको ५० किलोमिटर क्षेत्रमा सबैभन्दा बढी दुर्घटना भएका छन् । उक्त खण्डमा निर्मित मृत्यु स्तम्भहरूले बढी दुर्घटना भएको पुष्टि गर्छ । धनगढी–डडेल्धुरा भीमदत्त राजमार्गमा मात्र दुर्घटनामा मृत्यु भएका परिवारजनले बनाएका एक सय ३९ स्तम्भ छन् । भीमदत्त राजमार्ग मात्र होइन सुदूरपश्चिमका पहाडी जिल्लामा निर्मित अधिकांश राजमार्गमा अहिले मृत्यु स्तम्भ बनेका छन् । 

कैलालीको सहजपुरका स्थानीय दीपक बोहराका अनुसार एउटै राजमार्गका दर्जनौ स्थानमा बढी दुर्घटनाग्रस्त क्षेत्र छन् । ‘राजमार्ग निर्माण भएदेखि नै दुर्घटनाग्रस्त क्षेत्र भनेर बोर्ड लगाइएको थियो,’ बोहराले भने, ‘ति बोर्ड अहिलेसम्म पनि यथावत छन् । 

यसले दुर्घटनाग्रस्त क्षेत्रमा सडक सुधारको काम नभएको पुष्टि हुन्छ ।’ यता सडक डिभिजन कार्यालयले भने राजमार्गमा पट्के मर्मतको कार्य हुँदै आएको दाबी गर्दै आएको छ । तर बर्सेनि हुने दुर्घटनाले सयौँले अकालमै ज्यान गुमाउनु परेको छ । 

ट्राफिक प्रहरीले भने पहाडी जिल्लामा हुने दुर्घटनामा मुख्य दोषी चालकलाई बताउँदै आएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा सुदूरपश्चिममा दुई सय ८५ सडक दुर्घटना हुँदा एक सय ४३ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा दुई सय ३४ वटा सवारी दुर्घटनामा परी दुई सय २३ जनाले ज्यान गुमाएका थिए ।


Author

थप समाचार
x