स्थानीय सरकारका संस्थापकहरू संवाद : ३३
मैले योजना ल्याउन मन्त्री र सांसद चिन्नुपर्ने त हैन होला ?
बागलुङ जिल्लाको १० वटा स्थानीय सरकारमध्ये एक हो, तमानखोला गाउँपालिका । पहिलो पटक स्थानीय तह बन्दै गर्दा यो पालिकासँग अध्यक्ष र उपाध्यक्षलाई बस्न कुर्सीसमेत थिएन । भाडाको दुई–दुईवटा कुर्सी राखेर अध्यक्ष र उपाध्यक्षले पालैपालो शपथ लिए । जनप्रतिनिधि पाएको चार महिनासम्म पालिका भएको स्थानसम्म मोटर आएको थिएन । यस्तो अवस्थामा ३० वर्षे युवा जोकलाल बुढाले पालिकाको नेतृत्व पाए । सानै उमेरमा पालिका अध्यक्षको जिम्मेवारी पाएका जोकलाल बुढासँग सुरेन्द्र बजगाईंले गरको कुराकानीको अंश :
तपाईं संघीयताको खास जग हुनुहुन्छ, संघीयता थेग्न सकिँदैन भन्ने आवाज पनि छँदै छ, स्थानीय सरकारको संस्थापक नेतृत्व भएका आधारमा तपाईं के भन्नुहुन्छ ?
नेपालको सन्दर्भमा जति बेला संविधान, संघीयता र राज्य पुन:संरचनाको कुरा उठ्यो त्यति बेलादेखि नै हामीले संघीय संरचनालाई अलि हलुका तरिकाले लिइयो कि जस्तो लाग्छ । यो मेरो व्यक्तिगत बुझाइ हो । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा यो संरचना आवश्यक नै छ । यसलाई टिकाइ राख्न आवश्यक छ ।
हाम्रै पालिकाको सन्दर्भमा पनि संघीयता टिकाउन ठूलो च्यालेन्ज छ । किनभने हाम्रोमा प्राकृतिक स्रोतलाई उद्यम र आयआर्जनको स्रोतमा बदल्न सकेका छैनौँ । संघीय संरचनालाई पाँच वर्षसम्म हलुका तरिकाले लिएकाले केन्द्रबाट आएको अनुदान र सहयोगलाई नै संघीयताको आधार मान्ने चलन छ । तर यो केन्द्रमा निर्भर हुनु गलत हो ।
संघीयताको मोडेल भनेको त आफ्नो स्रोतको पहिचान, स्रोतमा अधिकार र स्रोतको उपयोग र त्यसलाई आम्दानीसँग जोड्नुपर्छ । सम्भावना भएका प्राकृतिक स्रोतको पहिचान र त्यसलाई सही तरिकाले प्रयोगमा ल्याएमा मात्रै संघीयताको धन्न सकिन्छ ।
हाम्रो जस्तो प्राकृतिक स्रोत कम भएका पालिका धान्नका लागि एकदमै कठिन छ । संघीयताको आवश्यक हो । यसको मर्म र भावना बुझेर काम गर्न सकियो भने टिकाउ गर्न सकिन्छ । र मेरो विचारमा अहिलेको पालिकाहरू मर्ज गरेर स्थानीय सरकारहरूलाई केही कम बनाउनु पर्छ । त्यति भयो भने मात्रै यसलाई टिकाउन सकिन्छ ।
स्थानीय सरकारको नेतृत्वका रूपमा तपाईंको पहिलो कार्यकाल सकिँदै गर्दा आफ्नो पालिकाको खास पहिचान र सामर्थ्य के बनाउनुभयो ?
हाम्रो स्थानीय तह निर्माण गर्दा राज्य पुन: संरचनाको धेरै जस्तो आधार नपुग्दा पनि हाम्रो पालिका बनेको हो । राज्य पुन: संरचनाका मुख्य आधार जस्तै, भूगोल, विकास, जनसंख्यासँगै संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र भन्ने पनि उल्लेख छ । हामीले यस क्षेत्रलाई संरक्षित क्षेत्र भएको आधारमा स्थानीय तह निर्माण गरेका हौँ । किनभने यहाँ विशेष दलित र जनजातिहरू अत्याधिक बसोबास गर्ने स्थान हो । जहाँ दलित र जनजाति छन् त्यहाँ शिक्षा, स्वास्थ्य र आर्थिक रूपमा एकदमै पछाडि परेका छन् । त्यसैले यस क्षेत्रलाई संरक्षित क्षेत्रमा राख्नुपर्छ र त्यहीअनुसार अगाडि बढाउनुपर्छ जस्तो लाग्छ ।
हाम्रो मुख्य सामथ्र्य भनेको यहाँको युवा र महिलाहरू हुन् । उनीहरूलाई उद्यमी बनाउन सकिन्छ । यहाँ भेडा–बाख्राको ऊनबाट राडी–पाखी बनाउने उद्योग नै पनि सञ्चालन गर्न प्रयत्नरत छौँ । अर्को हाम्रो क्षेत्रमा गाईभैंसी पालन नै पनि राम्रो व्यवसाय हुन सक्छ । यहाँ मकै, सिमी र आलुलाई व्यावसायिक रूपमा उत्पादन गर्न सक्छौँ । यो पालिकामा अत्यधिक मात्रामा खानी भएको ठाउँ हो । यहाँ अत्यधिक मात्रामा फलाम, तामा लगायतका पुराना खानीहरू छन् । त्यसलाई हामी फोरी उत्खनन गर्न सक्छौँ । भएका पुराना खानीहरूलाई हामी पर्यटनसँग जोड्न सक्छौँ । यसका लागि सुरुवात भएको छ ।
आमअपेक्षा र अप्ठेराहरूलाई कसरी सम्बोधन गरियो ?
मैले पालिकाको अध्यक्ष चुनिँदा यहाँ आधारभूत कुरामा नै समस्या थियो । यहाँ मोटर बाटो, खानेपानी, विद्यालय भवन, दरबन्दी शिक्षक नै थिएनन् । यहाँ नागरिकले पैसा उठाएर शिक्षक राख्न बाध्य भएका थिए । तर अहिले त्यो समस्या हामीले ९० प्रतिशत समाधान भएको भएको छ ।
हाम्रो पालिकाको प्रमुख समस्या भनेको अशिक्षा, गरिबी, बेरोजगारी हो । त्यसलाई नै मुख्य आधार मानेका हामीले काम गरेका छौँ । यी तमाम विषयको सुधार गर्न सुरुमा शिक्षामा सुधार ल्याउन आवश्यक छ । सुरुमा हामीले भौतिक विकासलाई नै जोड दियौं । अहिले हामीले ६० देखि ७० प्रतिशतसम्म भौतिक निर्माणको काम सम्पन्न गरेका छौ । पालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ ।
हामीले परम्परागत सीप, अनुभव र ज्ञानलाई पहिचान गरी शिक्षासँग जोड्न आवश्यक थियो । त्यसलाई पाठ्यक्रममार्फत केही हदसम्म सम्बोधन गरेका छौँ । हाम्रो पालिकामा एक किलोमिटर बाटो पनि कालोपत्रे छैन । यति मात्रै हैन, म निर्वाचित भएर आउँदा पालिकाको केन्द्र र जिल्लाको अन्य स्थान पुग्ने मोटर बाटो नै चार महिना बन्द भयो । अहिले बाटोमा पर्ने खोलाहरूमा मोटरेवल पुल हालेर त्यो समस्या सदाको लागि समाधान गरेका छौँ ।
चुनावी घोषणापत्रमा वाचा गरिएका तपाईंका पाँच प्रमुख प्राथमिकता के थिए ?
शिक्षाको अवस्था सुधार, इन्टरनेटसँग गाउँलाई जोड्ने, खानेपानी, सडक र स्वास्थ्यको अवस्था सुधार नै मेरो प्राथमिकता थिए ।
अनि यी करिब पाँच वर्षमा तपाईंको नेतृत्वमा भएका प्रमुख पाँच काम के–के हुन् त ?
आफूले गरेको सबै काम प्रमुख जस्तो लाग्ने रहेछ । ‘स्वच्छ खानेपानी, एक घर एक धारा’को अभियानअन्तर्गत १३ सय खानेपानीको धारा निर्माण गरेका छौँ । यसले ८० प्रतिशत खानेपानीको समस्या समाधान गरेका छाँै । यो ठूलो उपलब्धि हो ।
शिक्षा क्षेत्रमा विद्यालयको भौतिक निर्माणदेखि शिक्षकसमेत समस्या समाधान भएको छ । हामी आउँदा ६ वटा वडा मध्य २ वटा वडामा त स्वास्थ्य संस्था नै थिएन । हामीले तीन स्वास्थ्य संस्था स्थापना गर्यौँ । अहिले हाम्रोमा एक्स–रेदेखि ल्याब सेवासमेत सुरु गरेका छौँ । पालिकामा भित्र केही समय अगाडिदेखि फार्मेसी सुरु भएको छ । एक जना मेडिकल अफिसर राखेर स्वास्थ्य सेवा दिँदै छौँ । अहिले महिलाहरू घरमा नै सुत्केरी हुनुपर्ने बाध्यता कम भएको छ ।
पहिले मुख्य मुख्य स्थानहरूमा सडक पुगेको थियो । अहिले सबै टोलसम्म पुगेको छ । यी नै समस्याहरूलाई हल गरिएको छ ।
गर्न चाहेर पनि नसकिएका काम केके हुन् ?
मैले धेरै कामको सुरु गरेको छु । अर्को कार्यकालमा म भए वा नभए पनि विकासको आधार तयार गरेको छु । गाउँपालिकाको विकासको लागि ‘रोड म्याप’ तयार छ ।
मैले तमानमा जलाशयसहितको बहु उपयोगी हाइड्रो पावर बनाउने तयारीमा छु । त्यो बाँकी नै छ । अर्को कुरा पालिकाभित्रका मौलिक घर जोगाउन कार्यविधि बनाएको छु । अझै एक वर्ष समय पाएको भए त्यसको परिणाम देखिने गरी काम हुन्थ्यो । अब आउने जनप्रतिनिधिले पहिलो काम त्यही गर्दा हुन्छ ।
हाम्रो परम्परागत घरहरूको छाना अहिले भएको जस्तै ढुङ्गाको नै राख्ने । घरहरूमा सेतो कमेरो, झ्याल ढोकामा कालो रङ्ग लगाउने, अनि अलि तल चाहिँ रातो माटोले पोत्ने चलन जोगाई रहनुपर्छ । यसको महत्व अहिले नदेखिए पनि अबको ५० वर्षमा देखिन्छ । संसार भरिबाट त्यही मौलिक घर हेर्न आउने दिन पनि आउन सक्छ ।
तिनमा अवरोध कहाँकहाँबाट के कसरी आयो ?
मेरो कार्यकालमा चारवटा प्रमुख कारण देखेको छु । हामीले पालिका सुरु गर्दा स्थानीयसँग २ वटा कोठा भाडामा लिएर एउटा टेबल र एउटा कुर्सी राखेर सुरु गरेको हो । त्यही एउटा कुर्सीमा मेयर र उपमेयरले पालैपालो शपथ लिएका हौ । अर्को कोठामा प्रशासकीय अधिकृत र लेखापाल पालैपालो काम गरेर सुरु भएको पालिका हो ।
यो भनेको संरचनागत र व्यवस्थापकीय चुनौती थियो भन्न खोजेको हो ?
हामीसँग योजना बनाउन ऐन, कानुन, कार्यविधि नै थिएन । के मा टेकेर योजना बनाउने र के मा टेकेर खर्च गर्ने भन्ने नै थिएन । गाउँपालिकालाई संघीयताको अनुसारको कर्मचारीको दरबन्दी नहुनु थियो । अर्को कारण कोरोनाको कारण हामी दुई वर्ष राम्रोसँग काम गर्न सकिएन ।
अनि संवैधानिक, कानुनी र व्यवहारगत जटिलता के–कस्ता आइपरे ?
जवाफदेहिता र पारदर्शिताको नाममा लामो प्रक्रिया भयो । यसो भन्दैमा कुनै प्रक्रिया विना नै काम गरौँ भनेको हैन । सहज ढङ्गबाट काम हुनुप¥यो भन्ने हो ।
यहाँ त सामान्य काम पर्यो भने पनि मानिस अलमल पर्छन् ।
तपाईंको सरकारको आर्थिक, कानुनी, प्रशासनिक कार्यप्रणाली कस्तो बन्यो, यिनमा समस्या के के रहे ?
हामीले नियम कानुन धेरैजसो बनाएका छौँ । अहिले त कर्मचारी पनि छन् । अघि भने काम चाहिँ प्रक्रियागत रूपमा लामो छ ।
विरलै पालिका मध्य हामी आर्थिक सुशासन कायम गर्ने पालिकाभित्र पर्छ जस्तो लाग्छ ।
प्रदेश र संघीय सरकारबाट पाएको सहयोग–असहयोगबारे तपाईंको अनुभव–मूल्याङ्कन के छ ?
प्रदेश सरकारको त सहयोग नै छैन । सिस्टमबाट आउने योजना बाहेक अरू सहयोग छैन । योजना ल्याउन बजेट ल्याउन मन्त्री, सांसद हुनुपर्ने भन्ने मान्यतामा हाम्रो राज्य व्यवस्था चलेको छ । बजेट वितरणमा न्यायोचित भएन भन्ने गुनासो हो मेरो ।
जिल्लाको पालिकामध्ये सबैभन्दा कम बजेट पर्ने पालिका तमानखोला हो । ताराखोला गाउँपालिकामा प्रदेशले १५–१६ करोड बजेट छुट्टाएको छ भने हाम्रोमा चाहिँ २–३ करोडको बजेट छ । अनि न्यायोचित वितरणको कुरा के भयो त ? अनि सन्तुलित विकासको आधार के बन्यो त ? मैले योजना ल्याउन मन्त्री र सांसद चिन्नुपर्ने त हैन होला । यहाँको आवश्यकता हो भने त सिस्टमले आउनुपर्यो नि ।
अब आउने नेतृत्वका लागि अनुभवप्राप्त अभिभावकका रूपमा के सुझाव छ ?
इमान्दारी, जवाफदेहिता र पारदर्शिता ठूलो कुरा हो । यति क्षमता राख्ने नेता अहिलेको आवश्यकता पनि हो ।
अक्सर नागरिक हुँदा, प्रतिपक्षमा रहँदा एक खाले र शासक भइसकेपछि नजर अर्कै खाले बनिदिन्छ, सीमित स्रोत–साधनको अवस्था पनि बुझिन्छ होला, आफ्ना नागरिकमै के–कस्ता समस्या पाउनुभयो ?
यो प्रश्नले मेरो मनमा दुईवटा कुरा आए । एउटा हामी आन्दोलनको बेला सडकमा उत्रिएको र ‘माग र पूर्ति’को बारेमा कक्षामा पढेको सम्झिए ।
माग्न सजिलो छ । माग्नेले त जे मागे पनि भयो, जति मागे पनि भयो । तर त्यसको पूर्ति गर्न अप्ठेरो छ । नागरिकले अपेक्षा धेरै गर्छन् । सबै कुरा भर्खरै भइदियोस् भन्ने सोच्छन् । यहाँका युवाहरू धेरै विदेशमा छन् । त्यहाँको विकास र यहाँको विकासको तुलना गरेर नकारात्मक प्रतिक्रिया दिँदा दुख लाग्छ । हाम्रो नागरिकको सोच, क्षमता, शिक्षा, चेतनामा कमजोर छौ । त्यसलाई बिस्तारै सुधार गर्दै लैजानुपर्छ ।
आफ्नो कार्यकाललाई १० पूर्णांकमा तपाईँ आफैँ कति नम्बर दिनुहुन्छ ?
मेरो कार्यकाललाई म १० मा ७ दिन्छु ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया