सेयर

नेप्से अहिलेसम्मकै उच्च बिन्दूबाट ८.४५ अंक मात्र तल

इकागज |
चैत १९, २०७७ बिहीबार १६:१६ बजे

काठमाडौँः नेपाल स्टक एक्स्चेन्ज (नेप्से) अहिलेसम्मको उच्चबिन्दूको नजिक आइपुगेको छ । यो साताको अन्तिम कारोबार दिन, बिहीबार नेप्से परिसूचक १२.८८ अंकले बढेर २,६३१.८९ अंकमा पुगेको छ । 

नेप्से परिसूचक फागुन ९ गते अहिलेसम्मकै उच्च बिन्दूमा २,६४०.३५ अंकमा पुगेको थियो । यो साता भने नेप्से लगातार बढेको छ । यो साता सोमबारदेखि बिहीबारसम्म नेप्से ८८.३७ अंकले बढेको छ । 


नेप्सेमा बिहीबार होटल एण्ड टुरिजम, जीवन बीमा, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समूहका परिसूचकबाहेक अन्य सबै समूहका परिसूचक उकालो लागेका छन् । 
नेप्सेमा दैनिक कारोबार रकम पनि बढेर ७ अर्ब रुपैयाँ नाघेको छ । बिहीबार नेप्सेमा २१८ कम्पनीको ७ अर्ब २५ करोड रुपैयाँ मूल्यका १ करोड ४३ लाख ९० हजार चार सय ४७ कित्ता सेयर ७४ हजार दुई सय ८ कारोबारमार्फत् किनबेच भएको छ । यससँगै बजार पुँजीकरण ३६ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । 

बिहीबारको कारोबारमा साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडको सेयरमा सर्किट ब्रेकर लागेको छ । त्यस्तै, युनाइटेड फाइनान्स, किसान लघुवित्त वित्तीय संस्था, वोमी लघुवित्त, एनआइसी एसिया लघुवित्त, अजोड इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ । बिहीबारको कारोबारमा साल्ट ट्रेडिङको सेयर मूल्य प्रतिकित्ता एक हजार एक सय १७ रुपैयाँले बढेर प्रतिकित्ता मूल्य १३ हजार तीन सय १७ रुपैयाँ पुगेको छ । 
 


Author

थप समाचार
x