सेयर

ब्रोकर लाइसेन्सका लागि १६ कम्पनीलाई दिइयो आशयपत्र

इकागज |
बैशाख १८, २०८० सोमबार १८:४ बजे

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले १६  वटा नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र दिएको छ । बोर्डको आज बिहान बसेको सञ्चालक समितिको बैठकले गत असोजमा आवेदन दिएका ४५ मध्ये १६ वटा कम्पनीलाई आशय पत्र दिने निर्णय गरेको हो । अन्य कम्पनीको आवेदनमाथि पनि अध्ययन भइरहेको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए ।

हाल आशयपत्र पाउनेमा नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, हिमालयन ब्रोकेज कम्पनी, सीबीआईएल सेक्युरिटिज, केबीएल सेक्युरिटिज, एनएमबी सेक्यूरिटिज,आरबीबी सेक्युरिटिज, सानिमा सेक्युरिटिज रहेका छन् । 


यस्तै, इन्डेक्स सेक्युरिटिज, सन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, आकारभैरव सेक्युरिटिज, एलिट स्टक हाउस र एसपीएसए सेक्युरिटिजले पनि आशयपत्र पाएका छन् । 

नबिल सेक्युरिटिजले धितोपत्र व्यापारीको काम गर्ने र मेघा स्टक मार्केटले पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि अनुमति मागेकोमा उक्त कार्यका लागि आशयपत्र पाएको हो । अन्यले भने सीमित कार्य गर्ने दलालका रूपमा काम गर्नेछन् ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ अनुसार आशयपत्र पाएका कम्पनीहरूले ६ महिनाभित्र न्यूनतम पूर्वाधार निर्माण गरेर बोर्डलाई जानकारी दिनुपर्ने छ । बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गर्ने छ र पूर्वाधार सम्बन्धमा गरेको व्यवस्था पर्याप्त देखिएमा धितोपत्र व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्नेछ ।


Author

थप समाचार
x