सेयर

निषेधाज्ञामा पनि नेप्सेमा बहार

इकागज |
बैशाख ३०, २०७८ बिहीबार १५:४५ बजे

काठमाडौँ : निषेधाज्ञामा अनलाइनमार्फत् सेयर कारोबार भइरहेको दोस्रो बजार, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा यो साताको अन्तिम कारोबार दिन पनि बजार उकालो लागेको छ । बिहीबार बजार १०.१३ अंकले बढेर २,६८४.०१ अंकमा पुगेको छ ।  ‘बुलिश ट्रेण्ड’ मा रहेको बजारलाई निषेधाज्ञाले बजारमा कुनै असर नपारेपछि पुनः २,७०० बिन्दूको थ्रेसहोल्ड नजिक पुगेको छ । यसअघि वैशाख २ गते नेप्से अहिलेसम्मकै उच्च २,७३५.४६ बिन्दूमा पुगेको थियो । 

बिहीबार नेप्सेमा बैंकिङ्ग, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा कम्पनी, लघुवित्त, जीवन बीमा कम्पनी तथा म्युचुअल फण्ड समूहको परिसूचक उकालो लागेको छ । त्यस्तै, नेपाल इन्प्रफास्ट्रक्चर बैंक तथा नेपाल टेलिकम लगायत कम्पनीको सेयर सूचीकृत रहेको अन्य समूहको परिसूचक पनि उकालो लागेको छ । यद्यपि, व्यापार, होटल्स र पर्यटन, म्यानुफ्याक्चरिङ्ग तथा प्रडक्सन र इन्मेष्टमेन्ट समूहको परिसूचक भने ओरालो लागेका छन् । 


आज दिव्येश्वरी हाइड्रोपावर र समता घरेलु लघुवित्तको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । त्यस्तै, विशाल बजार, रुरु जलविद्युत्, सांग्रिला डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, जोशी हाइड्रोपावर, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत्, खानीखोला जलविद्युत्, बेस्ट फाइनान्स, युनियन हाइड्रोपावर र सेन्ट्रल फाइनान्स लगायत ११ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ । 

बिहीबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा ठूलो ४९ करोडको कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको तीन हजार सात सय ९८ पटक सेयर किनबेच हुँदा २५ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी संख्यामा सेयर कारोबार भने सनराइज फर्स्ट म्युचुअल फण्डको २० लाख ८७ हजार आठ सय ३३ कित्ता र नेशनल हाइड्रोपावरको १४ लाख ४७ हजार ६ सय ३४ कित्ता सेयर किनबेच भएको छ । 

बिहीबार नेप्सेमा २१८ कम्पनीका ७ अर्ब १२ करोड रुपैयाँ मूल्यका २ करोड १९ लाख ५५ हजार नौ सय ४३ कित्ता सेयर ८६ हजार दुई सय ९६ ओटा कारोबारमार्फत् किनबेच भएको छ । 
 


Author

थप समाचार
x