समाज

सिएमआर नेपाल जर्नालिज्म एकेडेमी सुरु

इकागज |
मंसिर १६, २०७९ शुक्रबार १८:३६ बजे

काठमाडौं- नेपाली पत्रकारहरूमा डिजिटल र विषयगत क्षमता वृद्धि गर्ने उद्देश्यले सिएमआर नेपाल जर्नालिज्म एकेडेमी सुरु गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा एकेडेमी स्थापना गरेको हो ।

एकेडेमी उद्घाटन कार्यक्रममा एकेडेमीका प्रबन्ध निर्देशक उज्ज्वल आचार्यले एकेडेमीले नेपाली पत्रकारका लागि आगामी माघ महिनादेखि मोबाइल जर्नालिज्म, पोडकाष्ट, डिजिटल सेक्युरिटी, फ्याक्ट चेक, मिडिया लिटरेसी, डेटा जर्नालिज्मलगायतमा तालिम दिने जानकारी दिए ।  


नेपाल पत्रकार महासंघका सचिव पवन आचार्यले अध्यक्ष विपुल पोखरेलको शुभकामना सन्देश पढ्दै नेपाली पत्रकारहरूमा क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताए । उनले एकेडेमीले पत्रकारहरूलाई आवश्यकताअनुसार तालिम दिएर प्राविधिक र विषयगत रूपमा सबल बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

नेपालका लागि जर्मनीका राजदूत डा.थोमस प्रिन्सले स्वतन्त्र पत्रकारिता नभएको ठाउँमा लोकतन्त्र नहुने बताए । उनले मिथ्या सूचना समाजका लागि नै घातक हुने बताउँदै त्यसलाई न्यूनीकरण गर्नेतर्फ पनि  एकेडेमीको भूमिका हुनुपर्ने धारणा व्यक्त गरे ।

इन्टरलिङ्क एकेडेमीका प्रबन्ध निर्देशक भेर्नर एगर्टले एकेडेमीले दिने तालिमबाट नेपाली पत्रकारहरूको क्षमता बढ्नुका साथै पत्रकारिताको व्यवसायिकतामा सुधार हुने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय ज्ञान र अनुभव बाँड्ने क्रममा सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा एकेडेमी सुरु गरेको बताए ।

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष तृष्णा आचार्यले नेपाली मिडियाको अनुसन्धानमा सक्रिय हुँदै आएको सेन्टर फर मिडिया रिसर्च नेपालले एकेडेमी सञ्चालन गरेर नेपाली पत्रकारलाई प्राविधिक र व्यवहारिक रूपमा सक्षम बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

सेन्टर फर मिडिया रिसर्च नेपालले एक दशकदेखि मिडियाका विभिन्न विषयमा अनुसन्धान गर्दै आएको छ । 


  


 


Author

थप समाचार
x