समाज

‘हेर्ने कथा’ले फेरियो हिक्मतको कथा : भन्छन्- हार खाइसकेको थिएँ, सबैको मायाले बचायो

कमल विष्ट |
बैशाख २९, २०८० शुक्रबार १५:३६ बजे

काठमाडौं– गत शनिबार साँझ युट्युबमा ‘नयाँ कथा’ प्रकाशित भएपछि हिक्मत बादीको जीवनमा ‘यूटर्न’ आएको छ । ६ वर्षयता राति विरलै निदाएका हिक्मत ६ दिनदेखि चैनको निद्रा निदाइरहेका छन् । खाना पनि रुच्न थालेको छ । उनलाई मन–मष्तिष्कबाट ठूलो भारी बिसाएको आभाष भएको छ ।

हिक्मतलाई अहिले बाहिर निस्कँदा कसैले बीच बाटोमै आफ्नो अपमान गरिदेला वा थप्पड लगाउला भन्ने पीर छैन । न त छ ‘पैसा छिटो तिर’ भन्दै कसैले फोन गर्ला भन्ने तनाव । त्यसो त उनलाई अहिले पनि कल त आउँछ, तर तिनमा ताकेता होइन, सहयोग, बधाई तथा शुभकामना हुन्छ ।


यतिबेला उनलाई देशविदेशबाट आउने फोन उठाउन र म्यासेज रिप्लाई गर्न भ्याइनभ्याइ छ । सद्भाव र सहयोगको आइरो लागेको छ । ‘फोन र म्यासेज आएको आएै छन्, एकछिन खाली छैन । शुभचिन्तकहरू रिसाउनुहोला भनेर सकेसम्म रेस्पोन्स गरिरहेको छु,’ इकाजगसँग हिक्मतले भने । 

‘हेर्ने कथा’मा आफ्नो कथा आएपछि यो स्तरको सहयोग र सद्भाव पाइएला भनेर उनले चिताएका थिएनन् । उनी त शनिबार बेलुका ७ बजेसम्म पनि मानसिक रूपमा विक्षिप्त थिए ।

‘भिडियो प्रिमियर हुनु एकछिन अघिसम्म पनि म सिकिस्त बिरामी थिएँ । मानसिक रुपमा विक्षिप्त थिएँ । हातखुट्टै लागिरहेको थिएन । खान मन नलाग्ने, खाए पनि बान्ता भइहाल्ने भइरहेको थियो । म अन्तिम चरणमा थिएँ । केही विकल्प नभएपछि मर्ने मनस्थितिमा पुगिसकेको थिएँ,’ उनले सुनाए । 

उनले मुस्कराउँदै थपे, 'अहिले सबैको साथ र सहयोग पाएपछि फेरि बाँच्ने भरोसा मिलेको छ ।’ 

हिक्मतलाई फोन र म्यासेज गर्नेमध्ये अधिकांशले भन्छन्, ‘अहिलेसम्म धेरैलाई सहयोग गरियो । तर, पठाएको पैसा सदुपयोग नभएपछि डोनेट गर्न छाडेको थिएँ । तपाईं निष्ठावान् व्यक्ति हुनुहुन्छ । तपाईंलाई सहयोग गर्न पाएर खुसी लाग्यो । यो कामलाई निरन्तरता दिँदै जानुहोला ।’

उनी सबैलाई आफूले सकेका दिनसम्म ‘बादी सरोकार मञ्च नेपाल’ चलाउने र एक पैसा पनि दुरुपयोग नहुने विश्वास दिलाउँछन् । सहयोगले उनलाई मनकारी मन र बादी बालबालिकाप्रति झन्झन् जिम्मेवार बन्न प्रेरित गरेको छ । 

कुनै–कुनै सहयोगले उनलाई भावुक बनाउँछ । सोमबार जाजरकोटकी एक किशोरीले सहायतास्वरुप पठाएको ४० रुपैयाँले उनी निकै बेर भावुक भए । 

‘ती नानीले मलाई फोन गरेर भनिन्– मैले अहिले यतिमात्र गर्न सकेँ, सकेको आगामी दिनमा गर्नेछु,’ उनले भने, ‘उनको सहयोगले म धेरै भावविह्वल भएँ । पैसाभन्दा पनि मान्छेको सपोर्ट र विश्वास ठूलो हो । सबैको साथ र विश्वासले मलाई झन् जिम्मेवार बनाएको छ ।’

मंगलबार अमेरिकाबाट आएको एउटा अर्को सहयोगले उनलाई त्यस्तै भावविह्वल बनायो । उनलाई अमेरिकाबाट एक महिलाले ‘डोनेसन’ पठाउँदै भनिछन्– मैले अहिलेसम्म कसैलाई सहयोग गरेको छैन, पहिलोपल्ट तपाईंको काम देखेर सहयोग गर्न मन लाग्यो । 

‘उहाँ आफैँ तीन महिनादेखि बिरामी भएर बेड रेस्टमा हुनुहुँदो रहेछ । आफू आर्थिक रुपमा कमजोर भएका बेला अरुलाई सहयोग गर्न सकिँदैन । तर, त्यो भिडियो हेरेर मलाई सपोर्ट गर्नुभयो । त्यो ठूलो कुरा हो,’ उनले सुनाए ।

सहयोगका यस्ता थुप्रै किस्सा छन् उनीसँग । 

अहिलेसम्म कति पैसा जम्मा भयो त ? 

उनले सहयोगस्वरुप जम्मा भएको सम्पूर्ण हिसाब अर्को साता सार्वजनिक गरिने बताए । ‘हिसाबकिताबसँगै उक्त स्रोत कहाँ कसरी खर्च हुन्छ भन्ने कुरा पनि त्यस दिन सार्वजनिक हुन्छ,’ उनले भने ।

६ वर्षदेखि बादी बालबालिकाका लागि होस्टल सञ्चालन गर्दा उनलाई २३ लाख रुपैयाँ ऋण लागेको छ । यो उनको नगद ऋण मात्र हो । यसबाहेक पनि रासन पानीलगायतको थप ६ लाख ऋण आफूले तिर्न बाँकी रहेको उनी बताउँछन् ।

हाल सुर्खेतमा रहेको उनको होस्टलमा सुर्खेत, कालिकोट, अछाम, जाजरकोट, कैलाली, रुकुम, दाङ र दैलेखका ११० जना बादी बालबालिका बसिरहेका छन् । होस्टल सञ्चालनमा प्रत्येक महिना ५ देखि ६ लाख रुपैयाँ आवश्यक पर्छ । 

अहिले उठेको पैसाले ऋण तिर्न पुग्ने उनको विश्वास छ । तर, सधैँ यसरी नचल्ने उनी बताउँछन् । बादी बालबालिकाको सम्पूर्ण जिम्मेवारी सरकारले नलिँदासम्म समस्या दीर्घकालीन रुपमा समाधान नहुने उनको भनाइ छ । 

सरकारलाई यस विषयमा गम्भीर बनाउनकै लागि उनको नेतृत्वमा २०७७ सालमा कर्णाली मुख्यमन्त्री कार्यालय गेटअगाडि १७ दिने आन्दोलन भएको थियो । फागुन ९ देखि २६ गतेसम्म चलेको आन्दोलनपछि पाँच बुँदे सहमति भएको थियो । ‘तर, अहिलेसम्म उक्त सम्झौता कार्यान्वयन भएको छैन । सरकार यस विषयमा गम्भीर हुनुपर्छ,’ उनले भने । 

हिक्मतको  कामले वाहवाही मात्रै पाएको छैन, उनलाई यस वर्षको ‘सीएनएन हिरो’ बनाउने अभियान पनि सुरु भएको छ । उनको मनोनयन दर्ता गराउने फारम अहिले सामाजिक सञ्जालमा यत्रतत्र भेटिन्छ । हिक्मतलाई पनि यसबारे थाहा छ । तर, उनलाई आफू यो पुरस्कारका लागि योग्य छु कि छैन भन्ने चाहिँ थाहा छैन । 

भन्छन्, ‘मलाई सीएनएन हिरो बनाउनुपर्छ भन्ने अभियान चलिरहेको छ । तर, म यसका लागि योग्य छु वा छुइनँ मलाई नै थाहा छैन । यसको निर्णय अरुले गर्नुहोला । म त चुपचाप आफ्नो काम गर्ने मान्छे हुँ ।’

सबै तस्बिर :  हेर्ने कथा


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x