समाज

धौलीगंगाकाे बाँध खोल्दा महाकाली तटीय क्षेत्रमा कटान सुरु

सतर्कता अपनाई राख्न अनुराेध

इकागज |
असार २६, २०८० मंगलबार १५:४२ बजे

कैलाली- भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजना बाँध खोल्दा महाकाली तटीय क्षेत्रमा कटान सुरु गरेको छ । महाकालीले नेपाल–भारतका तटीय क्षेत्रमा बिहानैबाट कटान सुरु गरेपछि स्थानीयहरू आतंकित भएका छन् ।

२८० मेगावाट क्षेत्रको जलविद्युत् परियोजनाको बाँधको सिल्ट सफाइ कार्यका लागि बाँधका ढोकाहरू खोलिएपछि नदी तटीय क्षेत्रमा कटान सुरु भएको हो ।


मंगलबार बिहान ५ बजेबाट बाँधका ढोकाहरू खोलिएका छन् । दार्चुला सदरमुकाम आसपास महाकाली नदीमा साढे ६ बजेबाट पानीको सतह बढेको दार्चुला प्रहरीका डिएसपी तर्कराज पाण्डेले बताए । महाकालीमा पानीको बहाव बढेसँगै प्रमुख जिल्ला अधिकारी किरण जोशी लगायत सुरक्षा निकायका प्रमुखहरूले नदी तटीय क्षेत्रको अवलोकन समेत गरेका छन् ।

महाकाली नगरपालिका–१ र दुहु गाउँपालिका–३ श्रीबगरको बस्तीमुनिबाट नदीले कटान गर्न थालेको छ । खेतका किनार समेत कटान गर्न थालेपछि स्थानीयहरू आतंकित भएका छन् । सदरमुकामको रिङ्नेताल क्षेत्र नजिक नेपालतर्फको तटबन्धको माथिल्लो भागमा महाकाली उर्लने प्रयास गरिरहेको छ । उक्त क्षेत्रमा भारतले नेपालभन्दा अग्लो तटबन्ध निर्माण भएको नदीको बहाव नेपालतर्फ मोडिएकाले नदीमा पानीको बहाव अझ बढे तटबन्ध माथि पानी पुग्ने सम्भावना रहेको छ ।

आइतबार परियोजनाले जिल्ला प्रशासन कार्यालयलाई पठाएको जानकारी पत्रमा मंगलबारकाे बिहान ५ बजेदेखि राति ८ बजेसम्मका लागि बाँधका ढोकाहरू खोलिने जनाएको थियो । आइतबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बाँधको ढोका खोलिने हुँदा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जिल्लाको ब्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले सूचना समेत जारी गरी आग्रह गरेको छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाई राख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेको छ ।


Author

थप समाचार
x