समाज

बाढीले गाउँ घेरिएपछि हुम्लाका स्थानीय त्रसित, उद्धारका लागि हेलिकप्टर तयारीमा

इकागज |
साउन १३, २०८० शनिबार १६:२ बजे

सुर्खेत- गए रातिदेखिको अविरल वर्षाका कारण हुम्लाको सर्केगाडका खोलामा बाढी आएपछि स्थानीयहरू त्रसित छन् । बाढीका कारण हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपको बस्ती जोखिममा परेको हाे । खोलामा आएको बाढीले काठे पुल बगाएपछि स्थानीयहरूलाई गाउँभित्र आवतजावत गर्न समस्या भएको छ ।

सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) ले गए राति ११ बजेदेखि परेको पानीसँगै आएको बाढीपहिरोले उक्त बस्ती नै जोखिममा परेको जानकारी दिए । ‘हिजो रातिदेखिको निरन्तर वर्षाका कारण खोलामा बाढी आएको र सिंगो गाउँ नै बाढीको उच्च जोखिममा रहेको छ,’ कार्कीले भने, ‘बाढीका कारण यहाँका नागरिकहरू त्रसित भएका छन् ।’ बाढीले अहिलेसम्म जनधनको क्षति नभए पनि सिंगो गाउँमा नै यसले असर पार्न सक्ने सम्भावना रहेको उनले बताए ।


‘गाउँमा ३ सयभन्दा बढी घरधुरी छन् । नागरिकहरू बाहिर निस्किन नसेकेको अवस्था छ । वरिपरिका खोलानालाहरू बढेर गाउँसम्म पसेका छन् भने भएका पुलहरू सबै बगेका छन्,’ उनले भने, ‘अहिले मौसम सुधारिँदै गए पनि बाढीपहिरो रोकिएको छैन ।’

सर्केगाड गाउँपालिका वडा नम्बर २ रिप बस्तीसँगै वडा नम्बर ६ मा पर्ने जिउँसी र ८ को एउटा गाउँ गए रातिदेखिको अविरल वर्षाका कारण खोलामा बढेको बाढी र पहिरोले घेरिएको जानकारी प्राप्त भएको कार्कीले बताए । घटनाको विषयमा प्रशासनको साथै प्रदेश सरकारलाई पनि जानकारी गराएको उनले बताए । उपाध्यक्ष कार्कीले नागरिकको उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको बताए ।

यता जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी भीम भट्टराईका अनुसार गाउँमा अहिलेसम्म बाढी पसिसकेको अवस्था नरहेको बताए । खोलामा आएको बाढीका कारण पुलहरू बगाए पनि धनजनको क्षति भने नभएको जानकारी दिए ।

हुम्लामा सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले खोलामा आएको बाढीका कारण पुलहरू बगाएपछि नागरिकहरू आवतजावतमा समस्या भएको बताए । ‘अहिलेसम्म गाउँमा कुनै क्षति भएको छैन,’ उनले भने, ‘बाढीको जोखिमलाई मध्यनजर गर्दै तयारी अवस्थामा रहेका छौं ।’


 


Author

थप समाचार
x