समाज

देशभर लम्पी स्किन रोगबाट ५२ हजारभन्दा बढी पशुको मृत्यु

इकागज |
भदौ २१, २०८० बिहीबार १७:२८ बजे

काठमाडौँ- कृषि तथा पशुपन्क्षी मन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको संक्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु संक्रमित भएको जानकारी दिएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे । 


हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताए ।

रोगको संक्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण गर्ने सरकारको नीति भएको बताएका छन् । यो नीति प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ७७ वटै जिल्लामा सञ्चालित भएको उनको भनाइ छ । 

उनले भने, 'माटो परीक्षण, रोग, कीरा परीक्षण, रोग निदानका साथै किसान, कृषि फार्म, कृषक समूह, सहकारीलाई प्राविधिक तालिम दिइएको छ ।' 

सांसद दीलेन्द्रप्रसाद बडूले गरेको प्रश्नको जवाफ दिँदै उनले स्वदेशमै रासायनिक मल उत्पादन गर्ने सवालमा अध्ययन भइरहेको बताए । 

सांसद प्रेम सुवालले नेपालमा कृषि यान्त्रिकीकरण किन हुनसकेको छैन भनी प्रश्न गरे ।


Author

थप समाचार
x