समाज

आजदेखि पितृ श्राद्ध तर्पण सुरु, गंगा सागरमा हजारौंको भीड

सुभाष कर्ण |
असोज १२, २०८० शुक्रबार १९:२८ बजे

जनकपुरधाम- आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष तर्पण सुरु हुँदै छ । १६ दिनसम्म चल्ने पितृ पक्ष तर्पणमा स्वर्गीय भइसकेका पूर्वजहरूलाई जल अर्पण गरी तर्पण गर्ने गरिन्छ भने जुन तिथिमा पूर्वजकाे निधन भएको हुन्छ त्यो दिन पिण्ड दान गरी समापन गर्ने गरिन्छ । 

पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्र श्राद्धसमेत भन्ने गरिएको हो । जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले सर्वपितृ अमावस्याका दिन श्राद्ध गर्छन् ।


चाडपर्व यज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म तिथिअनुसार पितृको श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो ।

पितृ तर्पणका लागि जनकपुरधामस्थित गंगा सागर पोखरीमा प्रत्येक वर्ष झै यस वर्ष पनि हजारौंको भिड लागेको छ । गंगासागर पोखरीको निर्माण मिथिलाका राजा जनकले स्थापना गरेकाले मिथिला क्षेत्रमा बसोवास गर्नेहरू यही पोखरीमा आएर पूर्वजलाई तर्पण दिन आउने गर्छन् । बुवा स्वर्गीय भएकाहरू यस पर्वमा कुश, तील, जौ र फुली लिएर पोखरीमा विशेष पूजा गर्ने गर्छन् । 

पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरू पिण्ड, पानीको आशले मृत्युलोकमा झर्छन् भन्ने जनविश्वास रहेको छ । सोह्र श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनुका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक जनविश्वास रहेको छ ।

पहिलो दिन कुश तिल जौ फुली, काक्रो, द्रव्य हातमा लिएर ऋषि मुनिप्रति श्रद्धा प्रकट गरेर तर्पण गरिन्छ । जसलाई अगस्त तर्पण भन्ने गरिन्छ । अगस्त तर्पण गरेको भोलि पल्टदेखि पूर्वज दिवंगत भएको तिथि अनुसार श्राद्ध गर्ने परम्परा रहेको छ । हिन्दुहरूको सबैभन्दा ठूलो पर्व दसैँ, दीपावली तथा छठ पर्व गर्नु अगाडि दिवङ्गत पितृहरूलाई स्मरण तर्पण, पिण्डदान गर्ने मिथिलामा परम्परा रहेको छ ।

के हो श्राद्ध तर्पण ?

श्राद्ध पक्ष हरेक वर्ष शारदीय नवरात्र प्रारम्भ हुनुअघि आउँछ । श्राद्धको अर्थ आफ्ना पूर्वजहरूप्रति श्रद्धा हो । शास्त्रमा ‘श्रद्धया इदम् श्राद्धम्’ अर्थात् पितृहरूका निमित्त श्रद्धापूर्वक गरिने कर्मलाई श्राद्ध भनिएको हो । श्राद्ध पक्षका क्रममा आफ्ना परिवारका ती मृत सदस्यहरूलाई याद अर्थात उनीहरूप्रति सम्मानसहित श्रद्धाञ्जलि दिइन्छ ।

श्राद्धका क्रममा पूर्वजहरूलाई जौ, तील, कुश, पानी तथा पञ्चामृतको तर्पण दिइन्छ। तर्पण गर्नुको उद्देश्य आफ्ना पूर्वजहरूको आत्मालाई उनीहरू आज पनि हाम्रो परिवारको हिस्सा हुन्, आजसम्म पनि हाम्रो स्मृतिमा जीवित छन् र हामी आफूप्रति उनीहरूबाट आशीर्वादसहित उनीहरूको खुशीको कामना गर्ने भाव दर्शाउँछ । 

सूर्यका सहस्र किरणहरूमध्ये जो सबभन्दा प्रमुख छ त्यसको नाम ‘अर्यमा’ हो । उक्त अर्यमा नामक प्रधान किरणको तेजबाट सूर्यले त्रैलोक्य प्रकाशमान हुन्छ । सोही अर्यमा तिथि विशेषको वस्य अर्थात् चन्द्रमाको भ्रमण हुन्छ तब उक्त किरणको माध्यमबाट चन्द्रमाको उध्र्व भागदेखि पितृहरू धरतीमा आउँछन् । यसै कारण श्राद्ध पक्षमा अमावस्या तिथिको ठूलो महत्व छ । अमावस्यासँगै मन्वादि तिथि, संक्रान्तिकाल, व्यतिपात, गजच्छाया, चन्द्रग्रहण तथा सूर्यग्रहण यी समस्त तिथिवारमा पनि पितृहरूको तृप्तिका लागि श्राद्ध गरिन्छ । 

श्राद्ध पक्षका १५ दिन अलग अलग व्यक्तिको श्राद्ध सुनिश्चित गरिएको छ । विशेष गरी बाबु वा हजुरबुबाको मृत्यु तिथि पारेर श्राद्ध गर्ने चलन छ । यसमा सामान्यतः आफ्नो कुलका तीन पुस्ता अर्थात् बुबा, हजुरबुबा र बूढो हजुरबुबा तथा मावलीतर्फ तीन पुस्ता अर्थात् मावली हजुरबा, बूढो हजुरबा र कुप्रो हजुरबालाई पत्नीसहित पिण्ड प्रदान गरिन्छ । तर्पण भने शास्त्रले निर्देश गरेबमोजिम सबै पितृलाई दिने गरिन्छ । श्राद्ध पक्षमा पितृगणका निमित्त गरिने पिण्डदानका दिन ब्राह्मण भोजन गराउने

विधान छ । शास्त्रमा ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः’ अर्थात् देवता भावले प्रसन्न हुन्छन् भने पितृगण शुद्ध र उचित विधिबाट गरिएको श्राद्ध तर्पण कर्मबाट पितृ तृप्त हुने भनिएको छ । मार्कण्डेय पुराणका अनुसार श्राद्ध पक्षका सबै दिन ‘पितृ स्तुति’ वा पितृ सूक्त पाठ गरे पितृ प्रसन्न भएर आशीर्वाद प्रदान गर्छन्। श्राद्ध पक्षमा ‘कुतप’ कालमा नित्य तर्पण गर्नुपर्छ । 

पितृपक्ष भाद्र पूर्णिमादेखि आश्विन अमावस्यासम्म १५ दिनको हुन्छ । धर्मशास्त्रहरूका अनुसार प्रत्येकको मृत्यु यी १५ तिथि बाहेक अन्य दिन नहुने हुनाले श्राद्ध पक्ष पनि १५ दिनकै हुन्छ । सौभाग्यवती स्त्रीको मृत्यु भएमा उनको श्राद्ध नवमी तिथिमा गरिन्छ । सन्यासीहरूको श्राद्ध तिथि द्वादशीलाई मानिन्छ। हातहतियारद्वारा मारिएका मानिसको तिथि चतुर्दशी मानिएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x