समाज

पत्रकार महासंघ प्रदेश कमिटीमा तालाबन्दी

अध्यक्षको नेमप्लेट कार्यालयअघिको अम्बाको बोटमा राखियाे

इकागज |
असोज २७, २०८० शनिबार १७:४७ बजे

मकवानपुर- पत्रकार शुद्धीकरण अभियान भनेर आस्थाको आधारमा सदस्यता नवीकरण गरिएको भन्दै प्रदेश कार्यालयमा ताला लगाइएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले नेपाल पत्रकार महासंघ बागमती प्रदेश कमिटीको हेटौंडामा रहेको कार्यालयमा तालाबन्दी गरेको हो । पत्रकार महासंघ केन्द्रीय समिति अन्तर्गतको सदस्यता शुद्धीकरण समितिले प्रदेश समितिबाट प्राप्त सिफारिस भनी प्रकाशित गरेको नामावलीप्रति प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण जनाउँदै तालाबन्दी गरेको हो ।

चौतारी बागमती प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष राधेश्याम खतिवडाको नेतृत्वमा प्रेस चौतारीका केन्द्रीय सदस्य हरि हुमागाई, चौतारी बागमती प्रदेश कमिटीका महासचिव र सदस्यहरू, चौतारीका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायतकाले महासंघको कार्यालयमा अनिश्चित कालका लागि तालाबन्दी गरेका हुन् ।


महासंघमा नेतृत्वमा रहनेहरू र पदाधिकारीहरूले आफ्नो संगठन निकट निष्क्रिय पत्रकारहरूको सदस्यता नवीकरण गर्ने तर प्रेस चौतारीमा आस्था राख्ने क्रियाशील पत्रकारहरूको सदस्यता नवीकरण नगर्ने गरी प्रदेशबाट सिफारिस भएको नामावली क्रियाशील पत्रकारहरूलाई सदस्यताबाट वञ्चित गर्ने मनसाय रहेको प्रेस चौतारी नेपालले ठहर गरेको छ ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले सदस्यताको विषय टुंग्याउनु अघि संगठनहरूसँग बसेर गरेको सहमति लत्याएको छ । चौतारीसँग गरेको सहमतिको प्रयास गरिएको प्रपञ्च रचेर आफ्नो मनोगत निर्णय कार्यान्वयन गराउन सिफारिस गरेको भन्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको सिफारिसको घोर विरोध रहेको कार्यवाहक अध्यक्ष खतिवडाले बताए ।

जिल्ला समितिबाट सर्वसम्मत सहमति भई सदस्यता नवीकरण गर्न सिफारिस गरिएका पत्रकारहरूको नामावली काटेर जिल्लाबाट सिफारिस नभएकाहरूको नाम प्रदेश समितिबाट थप्ने कार्य भएको खतिवडाले बताए ।

केन्द्रीय समितिबाट जारी भएको मापदण्डलाई धुलीसात बनाउँदै प्रदेश समितिले मनोगत रूपमा गरेको सिफारिस कार्यान्वयन नगर्न चौतारीले केन्द्रीय समितिको ध्यानाकर्षण गराएको छ ।

प्रेस चौतारी नेपालको सदस्य भएकै कारण क्रियाशील पत्रकारलाई नयाँ सदस्यता नदिने र सदस्यता नवीकरण नगर्ने महासंघ प्रदेश समितिका नेतृत्वले राजनीतिक आस्थाका आधारमा खल्तीका व्यक्तिलाई नयाँ सदस्यता पनि दिने, निष्क्रिय पत्रकारहरूको नवीकरण पनि गर्ने गरी रचिएको षडयन्त्र प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीलाई कुनै हालतमा स्वीकार्य नभएको तालाबन्दीपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

महासंघबाट जारी भएको १५ बुँदे मापदण्ड पूर्ण पालना नभएसम्म ताला नखुल्ने प्रेस चौतारीले जनाएको छ ।

महासंघले पत्रकारहरूको सदस्यता बारे हिजो शुक्रबार नामावली सार्वजनिक गरेको थियो । अध्यक्षको नेमप्लेट कार्यालय अघिको अम्बाको बोटमा राखिएको छ ।


Author

थप समाचार
x