समाज

उर्लाबारी आगलागी

बिएण्डसीमा उपचाररत थप १० जनालाई पनि काठमाडौँ पठाइयो

बाबुराम भण्डारी |
कात्तिक २८, २०८० मंगलबार १७:६ बजे

विराटनगर- उर्लाबारीमा आइतबार राति भएको आगलागी नियन्त्रणका क्रममा घाइते भएका थप १० जनालाई पनि मंगलबार उपचारका लागि काठमाडौँ लगिएको छ । नेपाली सेनाको स्काई ट्रकबाट उनीहरूलाई थप उपचारका लागि काठमाडौँस्थित बर्न हस्पिटल कीर्तिपुर लगिएको जनाइएको छ ।

आइतबार राति करिव १० बजेतिर भएको आगलागी नियन्त्रणका क्रममा खटिएका प्रहरी र स्थानीय सर्वसाधारण गरी २८ जना घाइते भएका थिए । घाइतेहरू मध्ये विराटनगरका अस्पतालहरूमा उपचाररत १४ जनालाई सोमबार सेनाकै स्काई ट्रकबाट काठमाडौँ लगिएको थियो ।


कोशी प्रदेश सरकारले झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत रहेका १० जनालाई थप उपचारका लागि काठमाडौँ लैजान पहल गरेको जनाइएको छ । त्यसका लागि मुख्यमन्त्री केदार कार्की आफैँ बिएण्डसी अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

घाइतेहरूलाई भद्रपुर विमानस्थलबाट काठमाडौँ लगिएको मुख्यमन्त्री कार्कीले बताए ।

सुजन सेन्दाङ, लाल बहादुर लिम्बू, कविराज दाहाल, तपन पण्डित, विक्रम साह, प्रकाश लिम्बू, रुकुम बहादुर कार्की, नवीन थापा, हेमकुमार दाहाल र करण संग्रौलालाई मंगलबार काठमाडौँ लगिएको जनाइएको छ । उनीहरू सबै उर्लाबारी नगरपालिका– ७ का स्थानीय हुन् । 

उर्लाबारी– ७ स्थित दीपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा आइतबार राति आगलागी हुँदा आगो नियन्त्रणका क्रममा उनीहरू घाइते भएका हुन् । 

ज्वेलर्सको सटरभित्र आगलागी भइरहेको अवस्थामा नियन्त्रणका लागि सटर खोल्ने क्रममा त्यहाँभित्र रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी सहायक हबल्दार मनबहादुर घिसिङ, प्रहरी जवान दिल कुमार आचार्य र ऋदिकिरण राईसमेत घाइते भएका थिए ।

उनीहरू मध्ये गम्भीर अवस्थाका प्रहरी सहायक निरीक्षक प्रधान, प्रहरी जवान आचार्य र राईसहित १४ जनालाई काठमाडौँ लगि सकिएको छ । घटनामा गम्भीर घाइते भएकाहरूको सहज उपचारका लागि तत्काल व्यवस्था गर्न मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवसहित प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतम, उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मिना खतिवडा पौडेल लगायतको छलफल समेत भएर तत्काल काठमाडौँ पठाउने पहल भएको जनाइएको छ ।

घाइतेहरू मध्ये एक जनालाई सोमबार नै विराटनगरबाट नियमित उडानबाटै काठमाडौँ पठाइएको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x